ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - कालिकोटका कालीबहादुर शाही काठमाण्डौको कलंकी चोकमा भेटिनुभयो ।
सुविधासम्पन्न भनिएको र ‘स्मार्ट’ हुँदै गरेको काठमाण्डौ शहरमा कालीबहादुरलाई पिसाबले दिनुसम्मको पीर दिएछ । आक्रोश पोख्दै उहाँले भन्नुभयो, ‘म धेरैबेर पिसाब रोक्न सक्दिनँ, यत्रो शहरमा कतै पनि सार्वजनिक चर्पी छैन, धेरैबेर छट्पटाएपछि माफ गर्नुहोला भन्दै व्यक्तिको घरमा गएर पिसाब फेरेँ, यही हो शहरको सुविधा ?’ सामान्य शौचालय पनि बनाउन नसक्ने सरकारले ‘स्मार्ट सिटी’ र रेलका कुरा गर्दा कालीबहादुर पत्याउनुहुन्न ।
कालीबहादुर जस्ता काठमाण्डौ उपत्यकाबाहिरबाट आएकाहरुले भोग्ने मुख्य समस्यामध्ये शौचालयको समस्या पनि एक हो । सीमित ठाउँमा बाहेक सार्वजनिक शौचालय नै छैनन् । भएका पनि दुर्गन्धित र जीर्ण छन् । पस्नै नसक्ने शौचालय भएर पनि के काम ? त्यसो त काठमाण्डौमै सधैँ बसिरहेकालाई पनि यसो बाहिर निस्किँदा पहिलो समस्या शौचालयकै हुने गर्दछ । घरबाट बाहिर निस्केपछि कि त दिसापिसाब च्याप्नै पर्यो । कि त घरमा फर्कने बेलासम्म पर्खनुपर्यो ।
सार्वजनिक शौचालयको अभावले थुप्रै मानिस दिसापिसाबले च्यापेर पीडामा हुन्छन् । काठमाण्डौकी सविता शाही भन्नुहुन्छ ‘पिसाबले च्यापेर समस्या भोगेका सम्झना त सयौँ छन्, घरबाट बाहिर निस्कनेबेला सबैभन्दा बढी पीर शौचालयकै लाग्छ ।’
यात्रुहरु समस्यामा
समस्या त काठमाण्डौका स्थायी बासिन्दादेखि व्यापारी, विद्यार्थी, जागिरे सबैलाई पर्छ । तर लामो समयदेखि बसिरहेकाहरुले जसोतसो व्यवस्थापन गरिरहेका हुन्छन् । काठमाण्डौमा भित्रिने नवआगन्तुक तथा यात्रीहरु सार्वजनिक शौचालयको अभावका कारण समस्यामा पर्ने गरेका छन् ।
काठमाण्डौ घुम्न, छोटो समयको काम लिएर वा आफन्तसँग भेटघाट गर्न आएकाहरुलाई सार्वजनिक शौचालयको अभाव बढी हुने गरेको छ । उदयपुरको कटारीबाट काठमाण्डौ आउनुभएका जयधन राई भन्नुुहन्छ, ‘न चर्पी देखिन्छ, न त खोलाखोल्सी छ, अरुको घरमा जान दिँदैनन्, यति गाह्रो पर्यो कि भन्नसमेत लाजमर्दो छ ।’
चिया चिसोको निहुँमा होटलको चर्पी
जयधन राई भन्नुहुन्छ, ‘हामी नयाँ मान्छेका लागि दिसापिसाब लाग्दा जाने ठाउँ नै छैन, भोक नलागे पनि होटलमा पसेर केही खाएपछि होटलको शौचालय जानुपर्छ ।’
दिसापिसाबले च्यापेपछि भोक नलागे पनि होटेल रेष्टुरेन्ट छिर्ने धेरैको बाध्यता छ । केही खाने बहानामा होटेलको शौचालय प्रयोग गर्नुको विकल्प छैन ।
बुटवलकी रिता श्रेष्ठको अनुभव पनि उस्तै छ । श्रेष्ठ भन्नुुहन्छ, ‘भर्खर बुटवलबाट आएको थिएँ, चर्पी कतै नभेटेपछि एउटा रेष्टुरेन्टमा खाजाको निहुँ गरेर शौचालय पसेको सामान्य खाजाको लागि ५÷७ सय रुपैयाँ तिर्नुपर्यो । यस्तो समस्या धेरैले भोग्नुपर्छ । चिया, चिसो खान मन नभए पनि त्यसैको निहुँ गरेर शौचालय जानु बाध्यता हो ।’
व्यापारी पनि समस्यामा
नयाँ बानेश्वरको सडक छेउमा मौसमअनुसारको तरकारी बेच्ने सम्झना कार्कीको ठूलो समस्या नै पिसाब हो । डोकोमा तरकारी लिएर दिउँसो ३ बजेपछि कोठाबाट निस्कने उहाँलाई ‘आज कति व्यापार हुन्छ भन्दा पनि आज कतिपटक पिसाब लाग्छ’ भन्ने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘साँझ ८ बजे घरमा पुगुञ्जेल पिसाब नलागिदिए हुन्थ्यो भन्यो, लागिहाल्छ पिसाबको ढिपी सहन सकिँदैन, खै कहाँ जानु र ?’
कपडा बेच्दै गरेका नरेश शाहीको पीडा पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, ‘चर्पी नभएकोले पिसाब च्यापेर बस्नुपर्ने समस्या त कति हो कति ? सुन्नेहरु त हाँस्लान् तर आफूलाई मर्नुजस्तो पीडा हुन्छ ।’
महिलालाई बढी समस्या
सार्वजनिक शौचालयको समस्या त सबैलाई छ । तर महिलाहरु अझ धेरै समस्या भोगिरहेका हुन्छन् । कतिपय पुरुषहरु खोला, साँघुरो बाटो, गाडीमा छलिएर वा अग्ला पर्खालमा छलिएर पनि पिसाब फेर्न भ्याउँछन् । फोहोर हुने थाहा हुँदाहुँदै पनि थाम्न नसकेपछि बाध्यता हो ।
महिलाहरु त त्यसो गर्न पनि सक्दैनन् । चर्पी उपलब्ध नै भए पनि महिलाले कतिको सुरक्षित छ भनेर विचार गर्नुपर्ने हुन्छ । लाजको कुरा एकातिर छ भने महिलाले थप हिंसाको सिकार पनि हुनुपर्छ । शहरमासुरक्षित सार्वजनिक शौचालय नहुँदा महिलाले बढी पीडा भोगिरहेका छन् ।
महिनावारीका बेला थप पीडा
बाटोमा हिँड्दै गर्दा महिनावारी भएमा वा महिनावारी भएका महिलाको बढी रगत बगेमा झनै बढी समस्या झेल्नुपर्छ । काठमाण्डौ कपनकी संगीता अधिकारी भन्नुुहन्छ, ‘बाटोमा हिँड्दै गर्दा पनि महिनावारी हुनसक्छ, त्यस्तो बेलामा कहाँ गएर प्याड लगाउने वा फेर्ने ?’
सार्वजनिक शौचालय भए पनि पानी नहुन सक्छ, प्याड फ्याँक्ने ठाउँ हुँदैन, ढोका पनि राम्रोसँग नलाग्ने चर्पी हुन्छन्, हातमा भएको व्याग राख्ने ठाउँ पनि हुँदैन, समस्या भनिसाध्ये छैन, पहिलो कुरा चर्पी नै भेटिँदैन भने चर्पी भेटिए पनि महिलामैत्री र सफा छैनन् । अधिकारी थप्नुहुन्छ, ‘महिनावारीको सम्भावित मिति सुरु भएपछि बाहिर निस्कनै मन लाग्दैन, महिनावारी भएर रगत बगुञ्जेल त झनै समस्या हुन्छ ।’
'शौचालय छैन, पानी नै नपिउने'
सार्वजनिक शौचालयको अभावले शहरका मानिस पानी कम पिउँछन् । विशेषगरी बाहिर निस्किरहनु पर्ने कामकाजी मानिसहरु बाध्यताले पानी कम पिउने गरेका छन् । घरबाट बाहिर निस्कनु छ भने सबैभन्दा पहिले पिसाबले च्याप्छ कि भन्ने चिन्ताले सताउँछ ।
त्यसैले घरबाहिर निस्कने बेलामा पानी कम पिउने गरेको काठमाण्डौकी दीपा ढकाल बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘पानी प्रशस्त पिउने हो भने निस्कन नपाई पिसाब आइहाल्छ अनि कहाँ जानु ? त्यसैले फर्केर कोठामा नआउञ्जेल पानी पिउँदिनँ, पिसाबले च्यापेर पीडा दिएको घटना त कति हो कति छ । शौचालय भेटिँदैन त्यसैले पानी नै नपिउने हो भने पिसाब कम आउँछ भनेर सोच्नु सबैजसोको बाध्यता हो ।’
दिसापिसाब लागिसकेपछि न त धेरैबेर रोकिराख्न सकिन्छ, न त जहाँ पायो त्यहीँ गर्न नै सकिन्छ । गाउँघरमा त कसैको घरको चर्पीमा ‘एकैछिन है’ भन्न पनि सकिन्छ तर शहरमा त्यो सुविधा निकै कम हुन्छ । दिसापिसाबले च्यापेर छटपटाउनु वा चियाचिसोको निहुँ गरेर होटेलतिर छिर्नु शहरको बाध्यता बनेको छ ।
- ‘पाइखानाको पीर’ शृङ्खलाअन्तर्गत बुधबार काठमाण्डौ उपत्यकामा सार्वजनिक शौचालयको अवस्थाका बारेमा चर्चा गर्नेछौँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।