परदेशीका श्रीमतीलाई घर चलाउन सजिलो छैन

 भदौ १९, २०७६ बिहिबार १७:१४:५१ | मेरो कथा मेरो भोगाई

बिमला तामाङ/घोडामारा, झापा ।

परदेशीको श्रीमती हुन सजिलो सजिलो छैन । बालबच्चा सम्हाल, घर व्यवहारदेखि सबै कुरा एक्लै धान्नु पर्छ ।

मेरो श्रीमान् परदेश बस्न थालेको लामो समय भइसक्यो । पहिला साउदीमा बस्नुभयो । अहिले चाहिँ मलेसियामा हुनुहुन्छ । कम्पनीभित्र नै गाडी कुदाउँछु भन्नुहुन्छ । मैले चाहिँ घरको गाडी कुदाईरहेको छु ।

बुवाआमा आफैं भएर छोराछोरीलाई बाटो देखाउनु सबैभन्दा चुनौती हुँदोरहेछ । कति कुरामा बुवा भइदिइएको भए छोराछोरीलाई यस्तो हुन्थ्यो होला, यस्तो चाहिँ गर्दैन थिए कि भन्ने लाग्छ । भोलि केही भइहाले आफ्नै टाउकोमा आइलाग्छ जिम्मेवारी ।

दुई जना भएर घर सम्हाले जस्तो त किन हुन्थ्यो र ? श्रीमानले उता काम गर्नुहुन्छ । महिना मरेपछि तलब आउँछ । म पनि यहाँ बिहानदेखि बेलुकासम्म काम गर्छु । गाईवस्तु पालेको छु । बाख्रा, कुखुरा पनि छन् । दूध बेच्छु । कुखुरा, खसी, बाख्रा बेच्छु ।

नुन तेलको खर्च त आफैं पु¥याउँछु । श्रीमानले कमाएको सकेसम्म बचाउने नै कोशिस गर्छु । मैले घरखर्च चलाउन सघाएकै कारणले हो उहाँले कमाएको पैसाले घर बनाउन सक्यौं । सबैतिर हेर्दा विदेश बसेर घर बन्यो ।

छोराछोरी पढाउन सकियो जस्तो लाग्छ । तर मन त खिन्न हुन्छ । एक्लै सबै कुरा धान्दा कहिलेकाहीँ त श्रीमान् भैइदिएको भए मलाई सजिलो हुने थियो जस्तो लाग्छ । तर बाध्यता अनेक हुने रहेछ ।

सोच्दाखेरी त विदेश जाने भन्ने कुुरा त मनै पर्दैन । तर अहिले त चलन नै यस्तै आयो । जो पनि विदेश नै जाने । विदेश गएपछि त के के न हुन्छ भन्ने ठान्छन् । मेरो श्रीमान् त बाध्यताले जानुभएको थियो ।

तर अहिले त धेरै जना रहरले जान थाले । जे होस्, अब त श्रीमानलाई घर आएपछि विदेश पठाउँदिनँ । खेतीपाती छ । बस्ने एउटा घर पनि बनाइयो । अरु त के नै पो चाहियो र ? छोरो पनि ठूलो भइसके । हामी सबै मिलेर यहीँ केही व्यापार व्यवसाय गर्ने हो ।

अन्तिम अपडेट: असोज १७, २०७६

तपाईको प्रतिक्रिया