हराउँदै रोपाइँको सस्कृति, बिर्सिंइदै बेठीको स्वाद

 असार ३०, २०७५ शनिबार ८:२:५ | उज्यालो सहकर्मी

संखुवासभा – असारलाई मानो खाएर मुरी उब्जाउने समय भनिन्छ । किसानलाई मंसिरमा भकारी भर्न असारमा कडा मेहनत गर्नैपर्छ । चुँहुँदो झरीमा घुम ओडेरै पनि रोपाई गर्नुपर्छ । अझ, रोपाइँ गर्नका लागि खेतलाई ठिक्क पार्न कम्ती सास्ती कहाँ हुन्न र ?  

असारमा गरिने परिश्रमले बाँकी महिनाभरि खान्कीको गर्जो टार्ने भएकाले असार अर्थशास्त्रको भाषामा लगानीको समय पनि हो । अनि, कृषि र किसानी आँखाले हेर्ने हो भने रोपाइँ एक सभ्यता र सस्कृति पनि हो । तर पछिल्लो समय यो संस्कृति बिरानो बन्दै गएको छ । यसको स्वाद हराउँदै गएको छ । एकातिर खेतीकिसानी गर्ने मानिस नै कम भइरहेका छन् भने रोपाइँको स्वाद पनि फिका बनेको बुढापाकाहरु बताउँछन् । 

हरायो बेठी 

पञ्जेबाजा बजाएर, हलका हल गोरु नारेर, गाउँभरिका रोपार बाउसे भेला भएर असारे गीत गाउँदै गरिने रोपाइँ अर्थात बेठी परम्परा हराउन थालेको छ । 

बेठी लगाउने चलन केही वर्ष अघिसम्म रहे पनि अब लगभग लोप नै भएको खाँदबारी नगरपालिका–४, सेकाहाका ८५ वर्षीय धनबहादुर गुरुङले बताउनुभयो । ‘साहुमहाजन र मुखिया जमिनदारले भव्य रुपमा बेठी लगाउँथे’, धनवहादुरले सम्झनुभयो, ‘मुखियाको बेठी भनेपछि आफ्नो रोपाइँको हिलो सुकाएर भएपनि अनिवार्य जानुपर्थ्यो ।’

पुराना दिन सम्झँदै गुरुङ भन्नुहुन्छ, ‘हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्दै रोपाइँ गरिइन्थ्यो । धानको बीउको मुठो फ्याँक्ने बहानामा होस् वा बाउसे गर्ने बहानामा रोपारलाई हिलो छ्याप्नुको मज्जै बेग्लै हुने गर्थ्यो । खै आजभोली सबै हरायो, जमाना नै फेरिए ।’ त्यसो त रोपारले पनि हलिबाउसेलाई हिलो छ्याप्न बाँकी कहाँ राख्थे र ? 

बेठीको बेला अरु दिनभन्दा मिठो खाजा खान दिने र काम सकेर फर्किंदा मुखियाले दक्षिणासहित टिका लगाइदिने चलन थियो । कोही–कोही त बेठी सकिएको दिन खसी काटेर मासुभात नै खान दिने मनकारी मुखिया पनि हुने गरेको उहाँको भनाई छ । 

पछिल्लो पुस्तालाई त बेठी के हो र कसरी लगाइन्छ भन्ने पनि थाहा हुन छोडेको खाँदबारीका राजेन्द्र थापा बताउनुहुन्छ । ‘खेती गर्ने मान्छे नै छैनन्, जसले गर्दा  के को बेठी, के को बाजागाजा ?’ उहाँ भन्नुहुन्छ । अहिले त असारे गीत पनि हराउन थालेको उहाँले बताउनुभयो । 

आयातित संस्कृतिले रैथाने संस्कृतिलाई खर्लप्पै निलेकाले यस्ता मौलिक कुराहरु लगभग लोप नै हुन लागेको बुढापाकाहरु बताउँछन् । हामीलाई हाम्रै गाउँठाउँका धेरै संस्कार संस्कृति परम्परा र रीतिथीति पनि थाहा नहुने अवस्था आएको उनीहरुको भनाई छ । 

असारमा कामको धपेडीले गलेका बेला, रमाइलो गर्दै काम गर्ने बेठी परम्परा किसानको संस्कृति नै बनेको थियो । तर अब यो संस्कृति हेर्दाहेर्दै मासिएको खाँदबारी नजिकै पिप्लेका ८४ वर्षीय पूर्व पत्रकार भोला गौलीले बताउनुभयो । असारे भाका पनि अब बेलाबेला रेडियोमा सुन्न पाइने तर खेतमा भने सुन्नै नपाइने उहाँको अनुभव छ । 

असारे भाका पनि बिरानो बन्दै 

छुपुमा, छुपु रोपन दिँदै, हातमा बीऊ छञ्जेल ।
हाँस र खेल नमान पिर, बाबाको जिउ छञ्जेल ।।
असारे मासा दबदबे हिलो, छि मलाई घिन लाग्यो ।
पातली नानीलाई फरिया किन्दा, छ बीस ऋण लाग्यो ।।

रोपाइँ गर्दा सुरिलो आवाजमा यस्ता भाका गाउनु असारको संस्कृति हो तर आजभोलि खेतमा यस्ता भाका सुनिंदैनन् । 

८४ वर्षीय गौली असारे भाका बेलाबेला रेडियोमा सुन्नुबाहेक खेतमा सुन्न नपाएको वर्षौ भएको बताउनुहुन्छ । खेतमै यस्ता भाका गाउँदै रोपाइँ गर्दा मनोरञ्जन मात्र नभएर हार्दिकता र व्यक्तिको सिर्जनशीलता पनि प्रष्फुटित हुने गरेको तर आजभोलि यो सबै कथा जस्तै भएको उहाँले बताउनुभयो । हाँसखेल गर्दै गीतमै प्रश्न सोध्दै र जवाफ फर्काउँदै काम गर्दा थकान पनि मेटिने र कला संस्कृति पनि जोगिने गरेको भए पनि अचेलको पुस्ताले असारे गीत गाउँदै नगाउँदा यस्ता गीत खेतमा लोप नै भएको उहाँको भनाई छ ।  

खेतका गह्रामा बगेका समाहा, खोलानाला कुलो र पैनीमा पानीको कुलकुल अनि खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका र पञ्चे बाजाको धुन पनि मिसिँदाको अनुपम स्वाद वर्णनै गर्न नसकिने खालको हुन्छ । तर यो सबै कथा जस्तो भयो । असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । पूर्वी भेगमा, काठमाडौ उपत्यका र आसपासमा, पश्चिमी भेग तथा तराईमा फरक–फरक भाका गाइन्छ । कतै लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन हुन्छ ।  अनि कतै त कतै चुड्के पारामा छोटो पाराले असारे भाका गाइन्छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ पनि भनिन्छ भने पश्चिमलतिर ‘काँठेभाका’ पनि भनिदो रहेछ । 

आधुनिक प्रविधिले गर्दा हरायो बेठी

बढ्दो सहरीकरण र औद्योगीकरणले कृषिमा पनि आधुनिकीकरण भित्रिएको छ । नेपालको अधिकांश युवाहरु वैदेशिक रोजगारमा रहेकाले पनि खोतीयोग्य जमिन बाँझै रहेको छ । अहिले त रोपाइँ गर्न पनि हाते ट्रयाक्टर प्रयोग गर्न थालिएको छ । न त हली चाहियो, न त रोपार नै चाहिने । रोपाइँको प्रकृति परिर्वतन भएकाले अहिलेको रोपाइँ पहिलेको जस्तो रमाइलो नहुने गरेको खाँदबारीका मित्र गुरुङले बताउनुभयो । 

हाम्रो लोकसंस्कृति र परम्परा ट्रयाक्टरको प्रवेश र हलो, रोपार, बाउसेको विस्थापनसँगै असारे भाका र बेठी परम्परा लोप हुन थालेको साहित्यकार ताराबहादुर बुढाथोकी बताउनुहुन्छ । धेरै जग्गा जमिन भएका जमिन्दारले बेठीको सुरुवात गरे पनि यसले सामूहिक भावनालाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । 

खलो बाँध्ने चलन पनि हराउँदै 

बेठीसँगै रोपाइँमा भकारी बाँध्ने चलन पनि हराउँदै गएको छ । खेतको सबैभन्दा ठूलो खले गह्रामा बीउका मुठाले गोलो घेरा बनाएर घरधनीलाई बीचमा राखेर रोपार, बाउसे, तथा हलीले हिलोको टिका लगाइदिने प्रचलन पनि थियो । बीउको जमरा र हिलोको टिका लगाएर रमाइलो गर्थे । यही प्रचलनलाई नै भकारी बाँध्ने वा खलेमुठो राख्ने पनि भनिन्छ । तर अहिले यो परम्परा र संस्कार संस्कृति पनि हराउँदै जान थालेको गौलीको भनाई छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Yo parampara akdam sahi x aaslai jogaunu parxa

    July 14, 2018, 2:25 p.m.

    यो परम्परा लोप भैसक्यो भने नि हुन्छ , पहिला पहिला कति रमाइलो गरेर प्राय ठाउं ठाउंमा यसरि बाजा बजाउँदै गीत गाउँदै रोपाईं गर्थ्यो रे, तर अहिले यो परम्परा हराउँदै गैराछ , यसलाई जोगाउनु पर्छ साथी/ हो, जोगाउनुपर्छ हामी सबै मिलेर /

  •  0 Reply

तपाईको प्रतिक्रिया