प्रदेशमा संविधान दिवस : विराटनगरको शहीद मैदानमा दशौँ हजारको उपस्थिति

 असोज ३, २०७६ शुक्रबार ११:५३:२४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ सरकारले  संविधान दिवस भव्य रुपमा मनाएको छ ।  राजधानी विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमा दशौँ हजारको सहभागिता रहेको थियो । 

बिहान ७ बजे विराटनगरको आदर्श माध्यामिक विद्यालयको प्राङ्गणदेखि प्रभात फेरीबाट सुरु गरी शहीद रंगशालामा औपचारिक कार्यक्रम गरी दिवस मनाइएको थियो । दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, प्रदेश सरकारले गठन गरेको सगरमाथा टिन्स क्लबलगायत विद्यालयहरुले मार्चपास गरेका थिए । मार्चपास पछि नेपाली सेनाले कवाज प्रस्तुत गरेको थियो ।

कार्यक्रम सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त नागरिकका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती रहेको बताउनुभयो । उहाँले संविधान स्वतः आफैँ कार्यान्वयन हुने नभइ नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने बताउनुभयो ।

स्वच्छ, सुखी र समुन्नत प्रदेशको मुल दृष्टिकोणसहित प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरेको उहाँले स्पष्ट पार्नुभयो । कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास प्रदेश सरकारको प्राथमिकता रहेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

‘प्रदेशमा मूलभूत सवालहरुमा राजनीतिक दलहरुबीच एकता कायम गर्ने असल संस्कारको विकास भएको छ, मुख्यमन्त्री राईले भन्नुभयो, स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने हाम्रो साझा चाहना प्राप्त गर्ने यो बलियो आधार हो ।’

कानुन निर्माणसँगै अन्य महत्वपूर्ण निर्णयहरुमा मात्र नभएर दुईवटा संविधान सभाबाट टुंगिन नसकेको प्रदेश राजधानी तोक्ने विषयमासमेत भएको सर्वसम्मत निर्णयलाई एउटा सशक्त तथ्य र उदाहरणको रुपमा लिन सकिने मुख्यमन्त्री राईको दाबी छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनैतिक दलहरुको सहमतिमा प्रदेशको नामांकन पनि छिट्टै टुंगिने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालको संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न विकास, समृद्धि, राष्ट्रिय एकता तथा जनहितका  विषयमा दलीय संवाद गर्ने र सहमति निर्माणको आवश्यकता अझ टड्कारो रहेको पनि जानकारी गराउनुभयो ।

संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा लागु गर्ने दायित्व र प्रतिवद्धतालाई प्रदेश सरकारले उच्च महत्व दिएको राईको भनाइ छ । गरिबी निवारण, रोजगारी सिर्जना, आयस्तरमा वृद्धि हामीले तय गरेका मूलभूत लक्ष्य रहेको, गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान सीप र तालिमको माध्यमबाट युवाहरुको सशक्तिकरण गर्ने उद्देश्य रहेको राईले बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट नै संविधानले स्थापित गरेको लोकतान्त्रिक शासन पद्धतिको मर्मलाई बल पुग्ने उहाँको विश्वास छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै हामी सधैँ भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा रहेको बताउनुभयो ।

राष्ट्रिय झण्डाको व्यापक प्रयोग

यसपटकको संविधान दिवस देशभरी नै आम जनसमुदायको सहभागितामा थप हर्सोल्लासको साथ मनाइएको छ । मातृभुमीको शिर उचो राख्नको लागि राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको यसपटक व्यापक प्रयोग भएको छ । ठूला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध प्रदेश सरकारले गरेको छ ।

यसबाट नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिन खोजिएको मुख्यमन्त्री राईको भनाइ छ ।

यी व्यक्ति सम्मानित

प्रदेश सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला प्रदीप कुमार राई ओखलढुंगा, २४ पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी कामीरिता शेर्पा सोलुखुम्बु र अल्ट्रा म्याराथुनको माध्यमबाट संसारभर नेपालको झण्डा फहराउँदै नेपाललाई चिनाउन सफल मिरा राई भोजपुरलाई सम्मान गरेको छ ।

प्रदेश सरकारको लक्ष्यसँग जोडिँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय ध्येयमा यी ब्यक्तिहरुको उल्लेखनीय योगदान रहने प्रदेश सरकारले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया