दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ - यस वर्षको दशैँ तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख चाडपर्व लक्षित पशुपन्छी र पशुजन्य पदार्थको आपूर्ति योजना बनाएर लागू गरेका कारण माछामासुको अभाव नहुने भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले निरोगिताको प्रमाणपत्रबिना खसीबोका आयातमा प्रतिबन्ध लगाएपछि माछामासुको हाहाकारभयो भनेर केही सीमित बिचौलियाहरका तर्फबाट भ्रम छर्ने कोशिस गरेका थिए ।
तर मन्त्री खनालले आफ्नो अडान कायमै राखेपछि व्यवसायीहरुले नेपाली खसी, बोका, राँगालगायतका पशुवस्तुलाई स्थानीय स्तरमा संकलन र बिक्री वितरणमा प्राथमिकता दिएको र आवश्यक प्रक्रिया पुर्याइ निरोगिताको प्रमाणपत्रसहित छिमेकी मुलुकबाट आयात सुरु गरेकोले नेपालमा मासुजन्य पदार्थकाे अभाव नहुने भएको हो ।
मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरहरुमा खसीबोकाको औसत माग संख्या प्रतिदिन १८४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ । दशैँका ७ दिन र अन्य चाडको मुख्य दिनसहितको दश दिन काठमाण्डौ उपत्यका लगायत मुख्य शहरहरुको औसत माग प्रतिदिन ५०००पुग्ने अनुमान अनुसार वर्षभर मासुका लागि आवश्यक खसी-बोकाको संख्या करिब ५०,००० हुन आउने देखिन्छ ।
अघिल्ला वर्षहरुको तथ्यांक हेर्दा मुख्य चाडबाडको दश दिनमा आवश्यक माग ५००० मध्ये २५०० खसीबोका काठमाण्डौ उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले बताउनुभयाे । यस हिसाबले काठमाण्डाै उपत्यका लगायत मुख्य शहरहरुमा दशैँको ७ दिन र अन्य चाडको मुख्य दिनमा खसी, बोका र च्याङ्ग्राको कुल माग संख्या ५० हजार (२५ देखि ३० के.जी प्रति जनावर ज्यूँदो तौल)हुन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रमुख चाड लक्षित पशुपन्छी तथा पशुजन्य उत्पादनको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना, २०७६अनुसार, ‘हेफर इन्टरनेशनलसँग आवद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघमार्फत १३ हजार, खसी बोका व्यवसायीमार्फत १५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने याेजना बनाएकाे छ ।
त्यस्तै खाद्य संस्थानमार्फत २५००, खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार५ सय च्यांग्रा र स्थानीय व्यापारी मार्फत पोखराका लागि ५हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने कार्य योजना बनाएर लागू गरिएको महानिर्देशक शर्माको भनाइ छ । यो संख्या मागभन्दा एक हजार बढी हो ।
यसअघि उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी र स्वदेशी उत्पादनलाई जोड दिँदै निरोगिताको प्रमााणपत्रबिना भारतबाट खसी बोका आयातमा प्रतिबन्ध लगाइएकाे थियाे । जसका कारण भारतबाट खसीबोका आयात ठप्प भएकोमा हालसालै नेपालमा भारतीय मत्स्यपालन, पशुपालन तथा डेरी मन्त्रालयबाट जारी निरोगिताको प्रमाणपत्र, क्वारेन्टाइन प्रमाणपत्रसहित खोप लागेका, ट्याग नम्बरसहितका खसीबोकाहरु प्रकृयागत रुपमा कर तिरेर नेपाल भित्रिने क्रममा रहेको पशु क्वारेन्टाइनका उपमहानिर्देशक सम्झनाकुमारी काफ्लेले जानकारी दिनुभयाे ।
त्यस्तै काठमाण्डौ उपत्यका, अन्य ठूला शहर र साना हाटबजारमा दैनिक दुई-दुई सयका दरले ६ सय राँगाभैंसीको मासु खपत हुने गरेको छ । यो संख्या वार्षिक २ लाख १९ हजार हुन्छ । मन्त्रालयको तथ्यांकअनुसार त्यसमध्ये २ लाख ८ सय राँगाभैँसीको माग नेपालकै उत्पादनले धान्ने देखिेएको छ ।
अस्वाभाविक मूल्य वृद्धि किन ?
दशैँ तिहार नजिकिएसँगै खसीबोकाको मूल्य आकाशिएको गुनासो उपभोक्ताले गरेका छन् । एक किलो खसीको मूल्य १३–१५ सयसम्म पुगेको उपभोक्ताहरुको गुनासो छ । भारतबाट खसीबोका आयात नभएको र चाडबाडले च्याप्दै लगेपछि व्यापारीहरुले मिलोमतोमा मूल्य वृद्धि गरेका छन् । तर यसरी मूल्य वृद्धि गर्नु पर्ने जायज कारण र अवस्था नभएको पशु सेवा विभागका महानिर्देशक डा शर्मा बताउनुहुन्छ ।
महानिर्देशक शर्माका अनुसार व्यापारीले किसानबाट प्रतिकिलो जिउँदो खसी ३५०–४५० रुपैयाँमा खरिद गरी ढुवानी गरिएका खसीबोका काठमाण्डौमा ६००–६८० रुपैयाँ प्रति केजीमा बिक्री वितरण भइरहेको सन्दर्भमा हाल उपभोक्ताले तिर्नुपरेको तयारी मासुको मूल्य स्वभाविक र न्यायोचित देखिँदैन ।
यस सन्दर्भमा उपभोक्तासम्म पुग्ने मासुको गुणस्तर नियमनका साथै प्रभावकारी बजार अनुगमनका लागि जनशक्तिसहित आवश्यक व्यवस्थापन गर्न मन्त्रालयका सचिव प्रकाश माथेमाले निर्देशन दिनुभएको मन्त्रालयले जनाएकाे छ । बजार अनुगमन र नियमन गर्ने अधिकार आपूर्ति व्यवस्था विभागलाई भएकोमा मूल्यवृद्धि नियन्त्रण हुन सकेको देखिँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।