सबैभन्दा धेरै वस्तु भित्रने महिनामै आयात घट्यो,  निर्यात २५ प्रतिशतले बढ्यो

 असोज १८, २०७६ शनिबार १६:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी वस्तु तथा सेवाकाे आयात घटेको छ र निर्यात बढेको छ ।

भन्सार विभागले निकालेको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा यो वर्षको २ महिनामा वस्तु तथा सेवा आयात १ दशमलव २२ प्रतिशतले घटेको हाे । सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने भदौ महिनामै आयात घट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भदौसम्म नेपालले २ खर्ब २९ अर्ब  ५० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर गएको वर्षको सुरुका २ महिना अर्थात् भदौसम्म नेपालमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

यस्तै नेपालले निर्यातमा पनि सुधार गरेको छ । पोहोरको तुलनामा यो आर्थिक वर्षको सुरुका २ महिनामा निर्यातको दर २५ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले सुरुका २ महिनामा १४ अर्ब ६९ करोड रुपैयाँको  वस्तु निर्यात गरेकोमा यो बर्षको २ महिनामा १८ अर्ब ५० करोड रुपैयाँका वस्तु निर्यात गर्न सफल भएको छ ।पाेहोरको तुलनामा यो २५ दशमलव ८७ प्रतिशतले धेरै हो ।

२ महिनामा समग्रमा नेपालको व्यापार घाटा ३ दशमलव शून्य ५ प्रतिशतले घटेर २ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । पोहोरको सुरुका २ महिनामा व्यापार घाटा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

यो वर्ष सरकारले खसीबोका आयातमा रोक लगाउनु, तरकारीजन्य वस्तुको विषादी परीक्षण गर्नु, उद्योगलाई चाहिने कच्चापदार्थ कम आयात हुनु र सरकारले निर्यातजन्य वस्तुलाई थप प्रोत्साहन दिनुले व्यापार घाटा कम भएको र आयात घटेको अर्थविद्हरुले अनुमान गरेका छन् । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया