नारायणी नदीले दिएको पीडा : ‘घर बगायो, खेत बगायो तर दुःख कहिल्यै बगाएन’

 असार ३२, २०७५ सोमवार ७:१२:४३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – 

घटना एक
वर्षायामको समय सबैतिर धान रोपाईँको चटारो छ । फाँटहरुमा कृषकको चलहल–पहल  निकै छ । केही पहिला धान रोपेका फाँटहरु हरियो भैसकेका छन् भने केही ठाउँमा रोपाइँ भैरहेको छ । खेतबारीमै सबैको दैनिकी भुलिरहेको छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अहिले घरमाभन्दा खेतबारीमा नागरिकको चहल–पहल धेरै छ । सानो टिनले छाएको घरबाट त्यै चहलपहल नियाल्दै छन् दयाराम महत्तो । तर ६१ वर्षका महत्तो त्यो असारे रोपाईँ हेरेर खुशी देखिनुहुन्न ।

महत्तोको नाममा मात्र १० धूर जमिन छ । ४ छोरासहित श्रीमान श्रीमतीको सम्पति त्यही १० धूर मात्र हो । अरुलाई मानो रोपेर मुरी फलाउने चिन्ता लागेको बेला महत्तोलाई भने परिवार कसरी पाल्ने भन्ने चिन्ताले कहिल्यै छाड्दैन । १६ वर्ष पहिला उहाँलाई यस्तो चिन्ता भने थिएन । उहाँको आफ्नै १२ कठ्ठा खेतसँगै फराकिलो घर पनि थियो । मेहनत गरे वर्षभरी के खाने भन्ने चिन्ता पनि हुन्थेन । धान, गहुँ, मकै आफ्नौ खेतमा फल्थ्यो । खानाको चिन्ता हुँदैन थियो । तर ०५७ साल साउनमा नारायणी नदीमा आएको बाढीले उहाँका सबै सपनाहरु बगाएर लग्यो  ।

महत्तो सम्झनुहुन्छ, ‘त्यो दिन उर्लिएर आएको नारायणी नदीको बाढीले हेर्दा–हेर्दै आफू बसेको घर बगायो । आँखै अगाडि क्षणभरमा हरियो धानखेत जलमग्न भयो ।’ अनि उहाँको रोजीरोटी पनि खोसियो । त्यही दिनदेखि उहाँलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो ।

बाढीले तत्कालीन नारायणी गाविस ३ र ४ ध्वजाहा र सेहरीका १ सय ४१ घर परिवार विस्तापित भए । ध्वजाहा गाउँ पुरै नारायणीमा मिसियो । नेपाली सेनाले हेलिकप्टरबाट नदीको बीचमा फसेकालाई उद्धार गर्यो । गाई, भैँसी, बाख्रा अन्नपात सबै पानीमा बगे  ।

भौतिक रुपमा धेरै क्षति भए पनि मानवीय क्षति भने भएको थिएन । ध्वजाहा र सेहरीबाट विस्तापित अहिले मध्यबिन्दु–६, ध्वजाहा टाडीमा बसोबास गरिरहेका छन् ।

घटना दुई

तीनवटा साना कोठा छन् । सानो टिनले छाएको तीनवटा भान्सा छन् । शौचालय पनि तीन वटै छन् । ६० वर्षका बुद्धिराम बोटे भान्सा कोठामा नै सुत्छन् । उहाँको परिवारमा ११ जना छन् । उहाँका तीन भाई छोरा छन् । उहाँ कान्छो छोरासँगै बस्नुहुन्छ । माटोले लिपेको, टिनले छाएको सानो भान्सा कोठा छ । भान्साको ढोका पनि छैन ।  तर उहाँलाई बस्ने कोठा नपुगेपछि उहाँको रात त्यही भान्सा कोठामा बित्छ ।

जब नारायाणी नदीले घर, खेत सबै बगायो,  सुख बगेर गयो र नदीले दुःख थुपारिदियो ।

०६३ भदौसम्म एउटै घर उहाँका लागि पर्याप्त थियो । खेतबारी हुँदा पनि थप घरको आवश्यकता थिएन । अहिले तीनै भाई छोराहरुले विवाह गरिसकेका छन् । तर घर बनाउनका लागि जमिन अभावकै कारण उहाँ भन्सामै रात काट्न बाध्य हुनुहुन्छ । ‘१० धूरमा बसेका छौं । पहिला एउटा परिवार थियो, अहिले तीन भाई छोराका तीनवटा परिवार भए’, बोटेले भन्नुभयो, ‘जमिन तन्काउन नमिल्ने, यसैमा सबैले गुजारा चलाएका छौं ।’  वि.स. २०६३ सालसम्म उहाँको बसोबास साविकको कोल्हुवा गाविसमा थियो । तर नारायाणी नदीमा आएको बाढीले उहाँको पनि घर, खेतबारी सबै बगायो । घर खेतबारी मात्र होइन, उहाँको सबै सपना बगाएर लगिदियो ।

उहाँ अहिले टीसीएनको जग्गामा बसोबास गर्दै आउनु भएको छ । बाढीबाट प्रभावित भएपछि उहाँसँगै २५ घरलाई यस स्थानमा १० धूका दरले जग्गा प्रदान गरिएको हो । ‘घर, खेतबारी सबै नारायणी नदीले बगायो, तर यो दुःख भने खै किन बगाएन’, मलिन अनुहार बनाएका बुद्धिराम बोटेले आफ्नो पीडा बिसाउनुभयो । अहिले उहाँको परिवार ज्याला मजदुरी गरेर गर्जो टार्दै आएको छ । ‘आफ्नो सम्पति नभएपछि आफूले लगानी गरेर केही गरौं भन्ने नहुँदो रैछ’, बुद्धिराम बोटेका छोरा विजय बोटेले भन्नुभयो, ‘कहिले काम भन्दै कहाँ दौडियो, कहिले कहाँ ।’  जब नारायाणी नदीले घर, खेत सबै बगायो, त्यसैसँगै बोटे परिवारको सुख बगेर गयो र नदीले दुःख थुपारिदियो ।

घटना तीन

हरियो लहलह परेको काँसको फाँट । काँसको फाँट छेउबाटै नारायणी नदी उर्लिएर बगेको छ । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जको हरियाली वन । धेरैको मनै लोभ्याउँछ तर रतनपुर घर भएका ३० वर्षका जगनारायण महत्तोको मन भने यही फाँट देख्दा अमिलो हुन्छ ।

यो फाँटमा अहिले काँसै काँसको घाँसले भरिएको छ । यही फाँटमा केही वर्ष पहिला उहाँले लहलह धान, गहुँ फलाउनुहुन्थ्यो, अन्य धेरै बाली पनि लगाउनुहुन्थ्यो । उहाँले हरियो काँसघारी भएको फाँट देखाउदै भन्नुभयो, ‘यही हो मेरो खेत । मेरोसँगै यहाँ धेरैको खेत थियो, ०६३ सालमा आएको बाढीले सबै बगायो । खेत त्यती बेला खोला बन्यो, अहिले काँस घारी भएको छ’, महत्तोले भन्नुभयो, ‘सायद नबगाएको भए यहाँ अहिले धान रोपिसकिएको हुन्थ्यो होला, तर यो काँस घारी भएको छ ।’

श्रीमतीसँगै जाल बोकेर माछा मार्न आउनुभएको उहाँले बगिरहेको नारायणी देखाउँदै भन्नुभयो, ‘यहाँ गाउँ थियो, सबै बगायो, खेत थियो, सबै बगायो । यहाँ धान फलाएर त खान पाइएन, माछा मारेर त खानु पर्यो । के गर्ने भोक्कै बस्न सकिँदैन ।’ जगनाराणका अनुसार नारायणी नदी पहिला यस स्थानबाट झण्डै एक किलोमिटर परबाट बग्ने गरेको थियो ।

यी त नारायणी नदीका कारण विस्तापित भएका केही पीडित पात्रहरु मात्र हुन् । यिनीहरु जस्तै सयौं घरपरीवार अझै पनि पीडामा छन् । भएको घर खेतबारी बगरमा परिणत भएपछि पीडितहरु कष्टकर जीवनयापन गर्न बाध्य छन् । १० धूर जमिनमा बसेकाहरुलाई परिवारको संख्या बढेसँगै बस्ने बासको समेत अभाव देखिन थालेको छ । पीडितहरु भन्छन, ‘सरकारले १० धूर जमिनमा ल्याएर फालिदियो, १० धूरको जमिनले के गर्नु ?, अरु कुनै वास्ता गरेको छैन ।’

बगर बन्दै बस्ती र खेतीयोग्य जमिन

नारायणी नदीमा आएको बाढीका कारण पछिल्लो ३ दशकमा सयौं घर विस्तापित भएका छन् । नवलपुरका हजारौं बिगाहा खेतीयोग्य जमिन कटान भएको छ ।

वि.स. २०४५ सालमा आएको बाढीले साविक तमासपुर गाविसको बडुवा डुबानमा पर्यो । १ सय ५६ घर त्यहाँबाट विस्थापित भए । सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भयो । ०४५ सालमा विस्तापित नागरिक अहिले मध्यबिन्दु नगरपालिका १५ हर्रावास टारमा बसोबास गरिरहेका छन् ।

वि.स. २०५० सालमा आएको बाढीका कारण साविकको नयाँ वेलहानी गाविस–३, मा बसोवास गर्ने २५ घर विस्थापित भए । यहाँबाट विस्थापित भएका नागरिकहरु मध्यबिन्दु बाढीपीडित टोलमा बसोबास गरीरहेका छन् ।

वि.स. २०५७ साउनमा आएको बाढीका कारण साविक नारायणी गाविस ३ र ४ डुबानमा पर्यो । यहाँबाट १ सय ४१ घर विस्थापित भए । यहाँबाट विस्थापित भएका नागरिक मध्यबिन्दु–६, ध्वजाहा टाडीमा बसोबास गरिरहेका छन् । यसै समयमा साविक कोल्हुवा गाविस ६ नन्दपुरका ९७ घर विस्थापित भए ।

वि.सं. २०६३ मा आएको बाढीले साविकका कोल्हुवा, पिठौली र रजहर प्रभावित भए  । रजहरको पिप्रहर र पिठौलीको लौगाईका १ सय २० घर विस्थापित भए । उनीहरुलाई बस्ती विकास कम्पनीको नाममा दर्ता रहेको दिव्यपुरीको जग्गामा राखिएको छ । घर विस्तापितको तथ्याङ्कको लेखाजोखा हुने गरे पनि खेतीयोग्य जमिन कति बगरमा परिणत भयो भन्ने कुनै लेखाजोखा  छैन ।

यसरी पटक–पटक आएको बाढीका कारण सयौं परिवार विस्तापित भएका छन् । हजारौ बिगाहा खेतीयोग्य जमिन कटानमा परेको छ । नारायणी नदीको वहाब चितवन राष्ट्रिय निकुञ्जलाई छाड्दै नवलपुर क्षेत्रतर्फ रहेको बस्तीतर्फ परिवर्तन हुँदै गएको छ । यसले अझै हजारौं बिगाहा जमिन कटान गर्ने उत्तिकै सम्भावना देखिएको छ । नदी आसपासका बस्ती अझै जोखिममा रहेका छन् । सरकारले नदीबाट हुने क्षति कम गर्ने कुनै प्रभावकारी काम थालेको छैन् ।

१० धूर जमिनको लालपूर्जाका लागि १८ वर्षदेखि संघर्ष

नारायणी नदीमा आएको बाढीका कारण विभिन्न समयमा विस्तापित भएकाहरुलाई तत्कालीन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धूरका दरले जग्गा प्रदान गर्यो । वि.स. २०५७ सालमा विस्थापित भएकाहरुले १८ वर्ष हुँदा पनि प्रशासनले दश धूरका दरले राखेको जमिनको लालपूर्जा भने पाउन सकेका छैनन् । यसअघि ०४५ र ०५० सालमा विस्थापितहरुलाई पनि नवलपरासीकै विभिन्न स्थानमा राखिएको छ । तर अहिलेसम्म उनीहरुले जमिनको लालपूर्जा प्राप्त गर्न सकेका छैनन् ।

०५७ मा विस्थापित साविक कोल्हुवा गाविस नन्दपुरका ९७ घर धूरीमध्ये ९४ घरपरिवारलाई कोल्हुवाटारमा राखियो । जिल्ला प्रशासनको नाममा २ बिगाहा ६ कठा १२ धूर जग्गा खरिद गरी विस्थापितहरुलाई राखिएकोमा यस स्थानमा बस्ने बाढी पीडितले भोगचलन गर्दै आएको प्रशासनको नामको जग्गा आफ्नो नाममा दर्ताका लागि वि.स. २०५८ सालदेखि नै आवाज उठाउँदै आएका छन् । तर उनीहरुको आवाज अझै सुनुवाई भएको छैन ।

वि.स.२०५८ पुस २६ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुराजा कुसुमको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले प्रशासनको नाममा जग्गा खरिद गर्ने निर्णय गरेको थियो । प्रशासनले खरिद गरेको जग्गामा बसोबास गर्दै आएका नागरिकको नाममा  जग्गा दर्ता गर्न  वि.स. २०६९ चैत ४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले गृह मन्त्रालय विपद व्यवस्थापन शाखाका लागि निवेदन  लेखेको भए पनि त्यस यता गृह मन्त्रालयबाट बाढी पीडितको नाममा जग्गा दर्ताका लागि कुनै पहल नभएको भूमि अधिकार मञ्च नवलपरासीका अध्यक्ष पूर्णबहादुर बोहराले बताउनुभयो ।

वि.स. २०६६ माघ १० गते पनि बाढीबाट विस्थापित भएकाहरुको तथ्याङ्कसहित जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृह मन्त्रालयमा जग्गा दर्ताका लागि पत्र काटेको छ । तर नारायणी नदीबाट बिस्थापित परिवारहरुले अझै आफूले भोग चलन गर्दै आएको १० धूर जमिनको लालपूर्जा समेत पाउन सकेका छैनन । भूमि अधिकार मञ्चका अध्यक्ष बोहराका अनुसार यहाँबाट पठाइएका सबै पत्र गृह मन्त्रालयमा र भूमि सुधार मन्त्रालयमा गएर थन्किएका छन् ।

५७ साल यता पीडितहरुले पटक–पटक आफू बस्दै आएको जमिनको लालपूर्जा पाउनुपर्ने माग गरिरहेका छन् । लालपूर्जाकै नाममा राजनीतिक दलहरुले पनि आफूहरुलाई भोट बैङ्कको रुपमा चुनावमा प्रयोग गर्ने गरेको आरोप पीडितहरुको रहेको छ । तर यसको निकास निकाल्ले गरी न कुनै दलले काम गरे, न प्रशासन लागि पर्यो, न गृह मन्त्रालय, भुूमिसुधार मन्त्रालयले पनि कुनै सहयोग नगरेको अध्यक्ष बोहराको भनाई छ । अहिले आफूहरु कहाँ कसरी कुरा उठाउने अलमलमा परेको उहाँले गुनासो गर्नुभयो ।

नारायणी नदीमा तटबन्धनको बजेट : हात्तीको मुखमा जिरा

नारायणी नदी व्यवस्थापनका लागि ०६६/०६७ मा तटबन्धनको कार्यक्रम सुरु गरिएको थियो  । ०७४ बाट नारायणी नदी व्यवस्थापन आयोजना अन्तर्गत काम भइरहेको छ । तर नदीको एकीकृत व्यवस्थापन भने हुन नसकेको पीडित स्थानीयहरुको भनाई छ । वार्षिक रुपमा जहाँ नदीले कटान सुरु गर्छ त्यही निर्माणको कार्य बाहेक अन्य ठूलो कार्य हुन नसकेको स्थानीयको भनाई छ । नदीले विस्तारै नवलपुरतर्फ धार परिवर्तन गर्दै गएकाले यसलाई रोक्नका लागि बृहत रुपमा व्यवस्थापनका लागि पहल गर्न आवश्यक रहेको उनीहरुको भनाई रहेको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाले पछिल्लो पटक पिठौली, अमलटारी, बोटेटोल, नन्दपुरमा बाढी नियन्त्रणको काम गरिरहेको छ । यस्तै अमलटारीस्थित चितवनतर्फ च्यानलाईजेसन गरी पानीको धार परिवर्तनको काम भैरहेको आयोजनाका सूचना अधिकृत गौतम भण्डारीले बताउनुभयो ।

नवलपरासीको अमलटारीदेखि ब्रह्मस्थान, रतनपुर, नन्दपुर क्षेत्र सबैभन्दा जोखिमको क्षेत्रका रुपमा पहिचान गरिएको उहाँले बताउनुभयो । यहाँ काम गर्न निकै गाह्रो भएकाले गएको वर्ष दुई पटक टेण्डर आह्वान गर्दा पनि कोही काम गर्न नआएको भण्डारीले बताउनुभयो ।

वार्षिक रुपमा छुट्टाइएको १०÷१२ करोड रुपैयाँ यही क्षेत्रमा कार्य गर्न पनि नपुग्ने उहाँले बताउनुभयो । भण्डारीका अनुसार नवलपरासीतर्फ ६६ किलोमिटरमा काम गर्नु पर्ने भएकाले प्रमुख समस्या बजेट अभाव रहेको छ ।  ठूलो मात्रामा बजेट छुट्टाएर काम गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

वार्षिक रुपमा छुट्याइएको १०÷१२ करोड केही स्पर निर्माणमा सकिने हुँदा नदीको सही व्यवस्थापन अझै हुन सकेको छैन् । आयोजनाले नवलपुरतर्फ गैडाकोटदेखि त्रिवेणीसम्म कार्य गर्नुपर्ने भएकाले नदी व्यवस्थापनमा बजेट निक्कै कम भएको भण्डारीको भनाई छ ।

नदी व्यवस्थापनको काम गर्न  निकुञ्जको कारणले  पनि समस्या भएको सूचना अधिकृत भण्डारीले बताउनुभयो । मंसिरसम्म खोला बढ्ने, पुस र माघमा निकुञ्जले काम गर्न नदिने  गर्दा पनि काम गर्ने समय कम भएको उहाँले बताउनुभयो । दुई महिना गोहीले अण्डा पार्ने समय भनेर निकुञ्जले काम गर्न रोक्ने र फागुनबाट निकुञ्ज, वनको स्वीकृतीका लागि प्रक्रिया पुर्याउँदा पुर्याउँदै समय बित्ने गरेको भण्डारीले बताउनुभयो ।

नदीले हजारौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत गराउँदै जाने । बस्तीहरु विस्तापित हुँदै जाने तर यसको एकीकृत व्यवस्थापनका लागि भने खासै ठूलो पहल नभएको स्थानीय पीडितहरुको गुनासो रहेको छ । नदीले धेरै स्थानीय प्रभावित भएको गुनासो आइरहँदा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले समेत केही दिनअघि नदी प्रभावित क्षेत्रको अवलोकन गर्नु भएको थियो । अवलोकनपछि मन्त्री बस्नेतले नदी व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले समेत पहल गर्ने आश्वासन दिनुभएको थियो ।

नदीका कारण विस्थापित भएका नागरिकको समस्या अझै समाधान हुन सकेको छैन । अहिले पनि नदीले जमिन कटान गरिरहेको छ । खेतियोग्य जमिन बगरमा परिणत हुँदै गइरहेको छ । नदी आसपासका स्थानीय बर्खायाममा नदीको गाउँ बगाउने हो कि भनेर नसुती रात काट्न बाध्य छन् । 

अन्तिम अपडेट: भदौ २३, २०७५

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया