अन्तः शुल्क स्टिकर तत्काल नछाप्न सरकारलाई लेखा समितिको निर्देशन

 कात्तिक २२, २०७६ शुक्रबार १४:५३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संसदीय समितिले अन्तः शुल्क स्टिकर छपाइसम्बन्धी काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली कम्पनीले छपाइ गर्न प्रतिस्पर्धा नै गर्न नसक्ने गरी सरकारले स्टिकर छपाइसम्बन्धी टेन्डर आह्वान गरेको निष्कर्ष निकाल्दै तत्काल काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको  बैठकले त्यस सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने निर्णय पनि गरेको छ । नेपाली कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी अन्तः शुल्क स्टिकर छपाइसम्बन्धी बोलपत्र आह्वान सरकारले गरेकाले तत्कालका लागि प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

समितिले एक वर्षअघि नै अन्त: शुल्क स्टिकर छपाइ गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो । तर त्यो निर्देशन पालना नभएपछि समितिले पुनः त्यो प्रक्रिया अघि नबढाउन सरकारलाई सचेत गराएको हो ।

समितिले त्यस सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पनि पत्राचार गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतका सम्बन्धित पदाधिकारीहरुलाई त्यस सम्बन्धमा जानकारी लिन समितिको आगामी सोमबारको बैठकमा उपस्थित हुन पनि पत्राचार गरिएको सचिव पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले समितिले दिएको निर्देशनसमेत पालना नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राजेन्द्रकुमार केसीले संसदीय समितिले दिएको निर्देशनको समेत बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले सरकारले सिमेन्टको गुणस्तर कमजोर बनाउन गतिविधि गरेको समाचार बाहिर आएको उल्लेख गर्दै त्यस सम्बन्धमा पनि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया