आज मन्त्रिपरिषद् हेरफेरको तयारी

 मंसिर ४, २०७६ बुधबार ८:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । मंगलबार मन्त्रीहरुको छलफलमा प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद हेरफेर गर्ने संकेत गर्नुभएको थियो । त्यसैअनुसार तयारी भैरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले बुधबारका लागि सार्वजनिक कार्यक्रम नराख्न र काठमाण्डौ छाडेर बाहिर नजान मन्त्रीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू निकट केही मन्त्री तथा नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको हो । स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

मन्त्रीबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको छ । 

मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा पार्टी एकताका बाँकी काम र समसामयिक अरु राजनीतिक विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

एकताको धेरै काम सकिए पनि केही कमिटीको काम अझै बाँकी छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । गएको आइतबारको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया