साग पुरुष भलिबल : सेमिफाइनल समीकरण पूरा

 मंसिर १४, २०७६ शनिबार १८:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ । 

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकामाथि ३–१ ले जितेपछि पाकिस्तान समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित भएको श्रीलंका भने उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानले फाइनल प्रवेशका लागि बंगलादेश तथा श्रीलंकाले भारतसँग खेल्ने छन् । पहिलो सेट ३०–२८ ले जितेको श्रीलंकाले त्यसपछि लगातार तीन सेट गुमाउँदै समूह चरणको उपविजेतामा बन्यो । 

त्रिपुरेश्वर कभर्डहलमा पहिलो सेटको निकै प्रतिस्पर्धात्मक खेल श्रीलंकाले ३०–२८ ले जितेको हो । २५–२४ हुँदा पाकिस्तानले स्कोर बराबरी गर्दै २५–२५ मा ल्याएको थियो । त्यसपछि पाकिस्तानले अंक थप्दै २६–२५ बनाए पनि श्रीलंकाले कमब्याक गरेको थियो । त्यसैगरी २७–२७ र २८–२८ भएका बेला श्रीलंकाले लागातार २ अंक थप्दै ३०–२८ ले पहिलो सेट आफ्नो पक्षमा पर्न सफल भयो ।

दोस्रो सेटमा भने पाकिस्तान खेलमा फर्कन सफल भयो । सुरुदेखि नै श्रीलंकामाथि दबाब बनाएको पाकिस्तानसामु श्रीलंका सर्भिस, ब्लक र रिसिभ सबैमा कमजोर देखिएको थियो । दोस्रो सेटमा पाकिस्तान २५–१८ ले विजयी भयो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भयो । जसमा पाकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्दै सेटमा २–१ को अग्रता लिन सफल भयो । सुरुदेखि नै स्कोर लेभल गर्दै अघि बढेको पाकिस्तानले श्रीलंकालाई १५ मा रोक्दै स्कोर २१ सम्म पुर्‍याएकाे थियो । त्यसपछि श्रीलंका खेलमा फर्केर २० सम्म पुगे पनि पाकिस्तानले २५–२० ले तेस्रो सेटमा जित हात पार्न सफल भयो ।

चौथो सेटमा पनि पाकिस्तान र श्रीलंका दुवैले उत्कृष्ट खेल देखाएका थिए । सुरुदेखि स्कोर लेभल गर्दै अघि बढेका दुवै टिमले अन्तिमसम्म प्रतिस्पर्धा गरे । श्रीलंकाको १९ तथा पाकिस्तानको २१ अंक हुँदा रेफ्रीको गल्तीका कारण पाकिस्तानले थप अंक जोडेको थियो । जसका कारण उसलाई सोही अंकले फाइदा पुग्यो । 

अन्तिम समयमा दबाबमा परेको श्रीलंकाले सर्भिस बिगार्दा पाकिस्तान २५–२१ ले विजयी हुन पुग्यो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया