जिम्बावेविरुद्ध पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानको पक्षमा

 साउन ३, २०७५ बिहिबार ७:१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले दुई खेल अगावै जितेको छ । तेस्रो खेलमा पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हराउँदै सिरिज पक्का गरेको हो ।

बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो । पाकिस्तानी बलर चम्किँदा जिम्बावेका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए ।

जिम्बावेका चामु चिभाभाले १६ रन जोड्दा कप्तान ह्यामिल्टन मुसाकाज्दा र विलिङटन मुसाकाज्दाले समान १०/१० रन जोडे । जिम्बावेको पारी ध्वस्त बनाउन पाकिस्तानका फाहिम आश्रफले २२ रन खर्चेर ५ विकेट लिए । यस्तै जुनेद खानले २ विकेट लिए ।

घरेलु टोलीले दिएको ६८ रनको झिनो लक्ष्य पाकिस्तानले ९ ओभर ५ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । जितसंगै भ्रमणकारी टोली पाकिस्तानले पाँच खेलको सिरिजमा ३ – ० को अग्रता बनाउदै सिरिजमा कब्जा जमाएको हो । जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज जितेको थियो ।

पाकिस्तानको जितमा फखर जमानले अविजित ४३ रन जोड्दा बाबर आजमले १९ रन बनाए । इमाम उल हक सुन्य रनमा आउट भए । जिम्बावेका ब्लेसिङ मुजाराबानीले एक विकेट लिए ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया