कुलमान र सांसद मोदीबीचको सहमतिपछि आयोजना सम्पन्न, रंगेली र कटहरी क्षेत्रको विद्युत नियमित हुने

 मंसिर १६, २०७६ सोमबार १२:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी विद्युत प्रसारण लाइनको निर्माण कार्य सकिएको छ । मोरङको गिधनिया वस्तीमा भएको अवरोधका कारण १३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइनको काम रोकिएको थियो । तर अवरोध भैरहेको गिधनिया क्षेत्रमा पछिल्लो हप्तादेखि सुरु भएको काम सोमबार सकिएको हो ।

यही प्रसारण लाइनको विषयलाई लिएर गएको जेठ ७ गते मोरङका सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमै बाझाबाझ भएको थियो । सांसद मोदीले ट्रंक लाइनमार्फत बिजुली दिँदा साढे ९ अर्ब भ्रष्टाचार भएको र घिसिङले त्यसलाई संरक्षण गरेको आरोप लगाउनुभएको थियो । जवाफमा कार्यकारी निर्देशक घिसिङले सांसद मोदीले अवरोध गरेका कारण दुहवी–कटहरी प्रसारणलाइनको काम पूरा नभएको आरोप लगाउनुभएको थियो ।

सांसद मोदीले नै प्रशारणलाइन निर्माणमा अवरोध गरेको आरोप पनि लागेको थियो । त्यसपछि कात्तिक १ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मोरङ ४ का सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच काम अघि बढाउने र मोदीले सहयोग गर्ने सहमति भएको थियो ।

तर प्रसारण लाइनका कारण बस्तीमा  समस्या आउन सक्ने भन्दै स्थानीयले विरोध गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालयले सुरक्षाको लागि प्रहरी पठापछि काम काम सकिएको हो ।  पछिल्लो एक हप्तामा गिधनिया बस्तीको २ दशमलव ८  किलोमिटर क्षेत्रमा अन्डरग्राउण्ड तार बिच्छ्याउने काम सकिएको नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘प्रसारण लाइनको तार अन्डरग्राउन्ड गर्ने काम सकिएको छ, अबको २ हप्ताभित्र कटहरीको सबस्टेशन चार्ज थाल्छौं’ पाण्डेले भन्नुभयो ।

रंगेली र कटहरी क्षेत्रमा भरपर्दो बिजुली उपलब्ध हुने

प्रसारण लाइनको अभावमा अहिले रंगेली र कटहरी क्षेत्रका स्थानीयबासिन्दा र उद्योगले नियमित बिजुली पाउन सकेका छैनन् । कटहरीमा ११ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति भैरहेको छ, तर लोड धान्न नसक्दा विद्युत नियमित छैन । उद्योगले मागेजति विद्युत दिन सक्ने अवस्था पनि छैन ।

‘प्रसारण लाइन नहुँदा उद्योगहरुले मागिरहेको १५/२० मेगावाट बिजुली दिन सकिरहेका छैनौँ, तर अब यो प्रसारण लाइन पूरा भएर कटहरीको सवस्टेशन चार्ज भएपछि हामीले उद्योगले मागे जति बिजुली दिन सक्छौँ’ प्रादेशिक कार्यालय प्रमुख पाण्डेले भन्नुभयो ।

अब २ हप्ताभित्रै सवस्टेशनको चार्ज सक्ने र विद्युत आपूर्ति हुने पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया