गौतमबुद्ध विमानस्थल प्राधिकरणले नै चलाउने :  केही महिनाभत्रै अन्तर्राष्ट्रिय उडान सुरु हुने

 मंसिर २९, २०७६ आइतबार १९:०:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - आउँदो मार्चमा निर्माण कार्य सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरणले नै चलाउने भएको छ ।

विमानस्थल निर्माण अन्तिम चरणमा पुग्दा पनि कसले र कुन मोडालिटीमा चलाउने भन्ने टुंगो नलागेको भन्दै चिन्ता व्यक्त भैरहेका बेला सरकारले भने प्राधिकरणलाई नै विमानस्थल चलाउने जिम्मा दिन लागेको हो । 

जीटूजी मोडलमा विमानस्थल चलाउन जर्मनको म्युनिख विमानस्थलसँग सरकारले छलफल चलाइरहे पनि टुंगोमा पुग्न सकेको छैन । तर संस्कृति। पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले भने यो विमानस्थल सुरुमा नागरिक उड्ययन प्राधिकरणले नै चलाउने जानकारी दिनुभयो । उज्यालो अनलाइनसँगको कुराकानीमा उहाँले म्युनिख विमानस्थलसँग पनि छलफल भैरहेको तर टुंगोमा नपुगेसम्मको लागि प्राधिकरणले नै विमानस्थल सञ्चालन गर्ने बताउनुभयो । 

‘हामीले म्युनिख विमानस्थलसँग पनि छलफल गरिरहेका छौं, तर टुंगो लागेको छैन’ मन्त्री भट्टराईले उज्यालोसँग भन्नुभयो, ‘विमानस्थलको काम पूरा भएपछि यत्तिकै राख्ने कुरा हुन्न, अन्तर्राष्ट्रिय कम्पनी नआउञ्जेलको लागि नागरिक उड्ययन प्राधिकरणले नै चलाउँछ ।’

नेपाल भ्रमण वर्ष २०२० मा पनि देशमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुने डर बढेको छ नि भन्ने प्रश्नमा मन्त्री भट्टराईले भन्नुभयो, ‘२०२० को केही महिनाभित्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन्छन्, त्यसको लागि भैरहवा आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सहुलियतको प्याकेज दिने विषयमा हामीले छलफल गरिरहेका छौं, ढुक्क भए हुन्छ विमानस्थल चल्छ ।’

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै चुस्त ढंगले चलाउन नसकेको प्राधिकरणले अर्को  विमानस्थल कसरी चलाउन सक्छ भन्ने चुनौती चाहिँ देखिएको छ ।

विमानस्थल निर्माणको काम अन्तिम चरणमा

यही डिसेम्बर महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम मार्च महिनामा सकिने भएको छ । भौतिक संरचना निर्माणको काम सकिए पनि उपकरण जडानमा भएको ढिलाइले विमानस्थलको निर्माण सम्पन्न हुन मार्च महिना कुर्नुपर्ने आयोजनाले जनाएको छ । मार्च महिनाभित्र विमान उडान र अवतरणको लागि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठिकठाक भैसक्ने आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

भैरहवा विमानस्थलको भौतिक प्रगति ८५ प्रतिशतभन्दा धेरै रहेको छ । रन वे, ट्याक्सी वे, एप्रोन, कन्ट्रोल टावर भवन लगायका काम लगभग सकिएका छन् । टर्मिनल भवनको छानो हाल्ने काम सकिन थालेको छ ।

आइसीबी जेरो टु अन्तर्गतका सञ्चार उपकरण, रन वे मा लाइट जडानको काम र प्राविधिक कामको जिम्मा पाएको एरो थाइ कम्पनीले मार्चभित्र सबै काम पूरा भैसक्ने जनाएको छ । आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार केही सञ्चार उपकरण जडान भैरहेका छन् भने केही सामग्री नेपाल आउने प्रक्रियामा छन् । 
‘भौतिक पूर्वाधारतर्फको काम लगभग सकिन थालेको छ, सञ्चार उपकरण जडानको काम पनि भैरहेको छ, मार्च महिनाभित्र विमानस्थल तयार भैसक्छ’ अधिकारीले  उज्यालो अनलाइनसँग भन्नुभयो । 

सन् २०१७ मै विमानस्थलको काम सक्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र निर्माण सामग्रीमा स्थानीय नागरिक र स्थानीय सरकारको अवरोधका कारण आयोजनाको अवधि लम्बिएको हो । आयोजनाको लागि तिनाउ नदीको निर्माण सामग्री प्रयोग गर्न नदिएपछि दाङ र नारायणगढबाटसमेत निर्माण सामग्री लगेर काम गरिएको थियो । 

भ्रमण वर्ष सफल बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नभइ हुन्न : सीईओ जोशी

नेपाल भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्राउने योजना बनाएको छ । तर त्यसको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै धान्ने देखिन्न । त्यसैले भ्रमण वर्ष सफल बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जतिसक्दो छिटो सञ्चालन गर्नुपर्ने नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी बताउनहुुन्छ । 

‘अहिले हामीलाई सबैभन्दा ठूलो समस्या भनेको कनेक्टिभीको हो, हामीकहाँ आउने सडक पनि त्यति धेरै राम्रा छैनन् र झण्झटिलो पनि छ, हवाइमार्ग भएर आउनको लागि विमानस्थलकै अभाव छ, त्यसैले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन हुनुपर्छ ’ जोशीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

भ्रमण वर्षमा यदि २० लाख पर्यटक ल्याउने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे विस्तार र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन हुनुपर्ने सीईओ जोशीको भनाई छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया