बाँकेमा एक वर्षमा आठ सय जना वैवाहिक अंगीकृत नागरिक

 साउन ४, २०७५ शुक्रबार ७:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले एक वर्षमा नेपाली नागरिकसँग विवाह गर्ने आठ सय जना भारतीय महिलालाई नेपाली नागरिकता प्रदान गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले प्रशासनमा नियमित रुपमा वैवाहिक अंंगीकृतको नागरिकता प्रदान गर्ने काम भइरहेको जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला प्रशासन कार्यालय बाँकेबाट  ७ सय २५, इलाका प्रशासन कार्यालय नरैनापुरबाट ५० र इलाका प्रशासन कार्यालय कोहलपुरबाट २५ जना गरि एक वर्षमा आठ सयजना भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अंगीकृतको नागरिकता प्राप्त गरेका हुन् ।

पछिल्लो समय वैवाहिक अंगीकृतको नागरिक पाउने महिलाको संख्या बढीरहेको  कार्यालयले जनाएको छ । प्रशासनको तथ्यांक अनुसार दुई वर्ष अघि एक वर्षमा ३ सय ८४ जनाले वैैवाहिक अंगीकृतको नागरिता पाएकोमा गएको आर्थिक वर्षमा त्यसको दोब्बर धेरैले अंगीकृत नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलका अनुसार, जिल्ला प्रशासनबाट हरेक शुक्रबार वैवाहिक अंगीकृतको नागरिकता वितरण हुने गरेको छ ।  नेपाली नागरिकसँग विवाह गर्ने भारतीयले नेपाली नागरिकता पाउनका लागि  विवाह दर्ता, पतिको नागरिकता,  विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्छ । हुलाकमा रजिष्ट्री  गरिएको  पत्र र निवेदनको प्रतिलिपीलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ ।  नेपाली नागरिकता प्राप्त गर्नेलाई प्रशासनका कर्मचारीले सपथग्रहण गराउने गरेको प्रशासकीय अधिकृत  पौडेलले जानकारी दिनुभयो । प्रशासनका अनुसार सातामा ५ देखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार एक वर्षमा वैवाहिक ८ सयसहित १६ हजार ४ सय ५१ जनाले नागरिकता पाएका छन् । यसैगरी ६ हजार १ सय ९३ जनाले प्रतिलिपि लिएका छन् । 

   

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया