धुर्मुसको ठेला पसल - ‘ल आयो आयो सुन्तला, बदाम, केरा !’

 पुष १, २०७६ मंगलबार १३:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कलाकार सिताराम कट्टेल `धुर्मस´ले थालेको ठेला व्यापारमा उपभोक्ताको भीड बढेको छ ।

चितवनमा बन्दै गरेको गौतम बुद्ध रंगशालामा आइतबारदेखि ठेला व्यापार सुरु भएको हो । बेला बेलामा धुर्मुुसले उपभोक्तालाई मनोरञ्जन समेत गराउँछन् । उपभोक्तालाई स्वागत गर्दै धुर्मुसले आयो आयो सुन्तला, बदाम, केरा रंगशालामा ठेला भन्दै गर्दा उपभोक्ता थप आकर्षित र उत्साहित देखिन्छन् ।

रंगशालामा पुग्ने मानिसको लागि भनेर सञ्चालन गरिएको ठेलामा सुन्तला, बदाम, पानी, केरा लगायतका फलफूल राखिएको छ । यहाँको कमाइ पनि रंगशाला निर्माणमा सहयोग हुने धुर्मुसले बताएका छन् । 

‘ठेला व्यापारका लागि एक जना छुट्टै व्यक्ति राख्ने तयारी भइरहेको छ’, धुर्मुसले भने, ‘म रंगशालाको कन्स्ट्रक्शन लगायत काममा व्यस्त हुन्छु । ठेलाको व्यापार हेर्न छुट्टै व्यक्ति राख्ने तयारी छ, भ्याएकाे बेला म आफैँ र सामाजिक अभियन्ता अर्जुन भुसालले पनि हेर्नुहुनेछ ।’

रंगशाला निर्माणको सहयोगका लागि ठेला व्यापार थालेको र छिट्टै अरु ठेला पनि थप गरिने उनले बताएका छन् । फास्टफूड, मःम लगायतका खाजा पनि ठेलामा राखिने र मःम को व्यापार सुन्तली (कुन्जना घिमिरे)ले गर्ने बताइएकाे छ। 

धुर्मुसले आफूहरुले बेच्ने फलफूल बाहिरको भन्दा केही सस्तो हुने पनि बताए । यस्तै उनले फोहोर व्यवस्थापनका लागि छिट्टै डस्ट बिन राख्ने पनि बताए । 

रंगशाला निर्माणमा सहयोग गर्न चाहनेका लागि यो ‘मिठो’ अवसर भएको पनि उनले बताए । रंगशालाको ठेलाको व्यापारलाई साउदी अरबमा जेल जीवन बिताएर नेपाल आएका बिनोद रानाभाटले रेखदेख गर्नेछन् ।  

चितवनमा बन्दै गरेको गाैतमबुद्ध क्रिकेट रंगशालाका लागि आर्थिक संकलन गर्न धुर्मुस सुन्तली फाउण्डेशनले नयाँ तरिका अपनाएको हो । ठेला व्यापारको साेच सामाजिक अभियन्ता अर्जुन भुसालले दिएको पनि धुर्मुसले बताए ।

उनले आफूलाई सेवा गर्ने मौका दिन पनि सबैसँग आग्रह गरेका छन् । रङगशाला निर्माणस्थल अगाडि सुरु भएको ठेला व्यापारको नाफा सबै रङगशाला निर्माण अभियानका लागि खर्च गरिने पनि उनले बताए । यो रंगशाला बनाउन झण्डै तीन अर्ब खर्च लाग्ने भनिएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया