जाडाेमा कोठा न्यानो पार्दै हुनुहुन्छ ? ख्याल गरौँ

 पुष ३, २०७६ बिहीबार १२:२६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – कीर्तिपुरमा आइतबार राति कोइला बालेर सुतेका शर्मिला रञ्जितकार र उहाँकी दुई महिने छोराको ज्यान गयो । साँघुरो कोठामा कोइला बालेर सुतेका कारण अक्सिजन अभाव भएपछि उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । चिसो बढेपछि कोठा न्यायो बनाउन बालेको आगो न्यानो मात्र होइन, उत्तिकै हानिकारक पनि हुन्छ ।

चिसो भएपछि धेरैले यसैगरी दाउरा, कोइला बाल्ने गरेका छन् । अछाम, बैतडी, बाजुरा लगायतका जिल्लामा छाउगोठमा समेत यसैगरी न्यायो पार्ने चलन छ । काठमाण्डौ उपत्यका लगायतका शहरमा पनि दाउरा, कोइला, बिग्रेट, विद्युतीय सामग्री बाल्ने र ताप्ने गरिन्छ । 

तर शरीर न्यानो पार्न ताप्ने आगोले आगलागीसँगै ज्यान जाने सम्मका जोखिम निम्त्याउने गरेको छ । खुला ठाउँमा बालेको आगो ताप्दा सामान्य स्वास्थ्य समस्या देखिन्छ । दम, निमोनिया, आँखामा समेत समस्या देखिने डाक्टर विवेककुमार लाल बताउनु हुन्छ । तर झ्याल तथा हावा खेल्ने ठाउँ नभएको अवस्थामा कुनै लक्षणबिना नै ज्यान जान सक्ने भएकाले सावधानी अपनाउनुपर्ने डाक्टरको सुझाव छ ।

किन जान सक्छ ज्यान ? 

ताप्न वा न्यानो बनाउन बालिने दाउरा, कोइलाको आगो, हिटर लगायतले बन्द कोठामा अक्सिजनको ठाउँमा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न गर्छ ।

श्वासप्रश्वास प्रक्रियाका लागि अक्सिजन चाहिन्छ भने आगो बल्न पनि अक्सिजन नभै हुँदैन । नयाँ हावा छिर्ने ठाउँ नभएपछि अक्सिजन अभाव हुँदा ज्यान जाने सम्भावना हुन्छ । कार्बनमोनोअक्साइड हेमोग्लोबिनमा अक्सिजनभन्दा दुई सय गुणा बढी टाँसिन्छ र अक्सिजनलाई विस्थापित गर्छ । शरीरमा पर्याप्त अक्सिजन नहुँदा नियन्त्रण गुम्छ, होस गुमाउँदै गएर ज्यान जाने सम्भावना हुने डाक्टरको भनाइ छ । 

के गर्ने त ?

कार्बनमोनोअक्साइडको छिटो र बढी असर मुटुका रोगी, श्वासप्रश्वाससम्बन्धी बिरामी, गर्भवती, सुत्केरी तथा ५ वर्षमुनिका बालबालिकामा पर्छ । त्यसैले अरु बेला पनि कोठामा चिम्नी वा भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ । सामान्य लक्षण टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर थाकेजस्तो हुने, वाकवाकी वा चिटचिट हुने समस्या देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ । अझ चिसोमा आगो बाल्दा वा विद्युतीय सामग्रीबाट तातो बनाउँदा विशेष ख्याल गर्नुपर्छ ।

- बन्द कोठामा दाउरा, कोइला, हिटर बालेर सुत्नु हुँदैन
- नुहाउने कोठामा झ्याल खुला राख्नुपर्छ
- ग्याँस गिजर सकेसम्म बाथरुम बाहिर राख्नुपर्छ 
- बाक्ला कपडा, तातो झोलिलो खानेकुरा खाएर शरीर न्यानो बनाउन सकिने डाक्टर विवेककुमार लालको सल्लाह छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया