हिउँको बाटो हुँदै कालिञ्चोक पुग्दा (तस्बिर सहित)

 पुस ५, २०७६ शनिबार ९:३२:३९ | राधेश्याम खतिवडा
unn.prixa.net

दोलखामा रहेकाे कालिञ्चोक भगवती मन्दिर हिमाली भेगमा पर्ने रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । हिउँले छपक्कै ढाकेको कुरी बजारदेखि पहाडको चुचुरो ३८०० मिटर उचाईंमा रहेको कालिञ्चोक मन्दिर हिउँ पन्छाउँदै पुग्ने पर्यटक बढ्दै गएका छन् ।

दोलखा सदरमुकाम चरीकोटबाट १७ किलोमीटर दुरीमा रहेको कुरी पुग्न पैदल यात्रा गरे पाँच घण्टा र सवारी साधनमा गए दुई घण्टा लाग्छ । समुद्री सतहबाट करिब ३३०० मिटर उचाईंमा रहेको कुरी बजारको डिलबाट दक्षिणतिर हेर्दा पहाडहरु तल तल देखिन्छन् । कुरीमा धेरैवटा होटलहरु खुलिसकेका छन् ।

अग्लो हिमाल नजिक पुग्दै गर्दा बाटोमा जमेको हिउँले थप आकर्षित गर्छ । नजिकै देखिने हिमालले यात्राको थकान मेटाउँछ । कुरीबाट करीब ४५ मिनेट पैदलमार्ग उकालो चढेपछि कालिञ्चोक मन्दिर पुगिन्छ । कुरीबाट मन्दिर जान अहिले केबल कारको व्यवस्था पनि छ । 

केबुलकारबाट कुरी बजार, गौरीशंकर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्ने कालिञ्चोक मन्दिरमा अन्य पूर्णिमामा पनि दर्शनका लागि भक्तजन जाने गर्छन् ।

कालिञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडौंको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालिञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको संख्यामा वृद्धि भएको छ । 

मन्दिरको संरचना बनाउन नहुने किंवदन्ती रहेका कारण पहाडको चुचुरोको थोरै समतल भागमा देवी भगवतीको साथै महादेवको पनि पूजा गरिन्छ । पूजास्थलमा थोरै पानी देखिने सानो मुख भएको कुवा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया