वैदेशिक रोजगारीमा जानेको मानसिक स्वास्थ्य पनि जाँच गर्न आवश्यक

 पुस ८, २०७६ मंगलबार १८:५:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकको मानसिक स्वाथ्य पनि परीक्षण गर्न सरोकारवालाले जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग र कोशिस नेपालले मंगलबार आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रिया कार्यक्रममा सहभागीले पारिवारिक वियोगसँगै गन्तव्य देशमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका लागि विदेश जानुअघि नै मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने र तनाव व्यवस्थापनको कुरा पनि सिकाउनुपर्ने आवश्यकता औंल्याएका हुन ।

मानसिक समस्याको कारण

आर्थिक भार, ऋणको बोझ, नयाँ ठाउँमा चलचलन र रहनसहन नमिल्नु, सोचेजस्तो काम र कमाइ नहुनुले पनि धेरै श्रमिकमा मानसिक समस्या हुने गरेको राष्ट्रिय मानवअधिकार आयोगको ठहर छ ।

परिवारसँग नियमित सम्पर्क नहुनु, महिला श्रमिकलाई शोषण र दुर्व्यवहार हुनु, आफ्नो कुरा सुनिदिने मानिस नहुनु र गैरकानुनी हैसियतमा काम गर्दा पनि धेरै श्रमिकलाई मानसिक समस्या हुने गरेको छ ।

मानसिक रुपमा स्वस्थ नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिन आवश्यक भएको सरोकारवाको भनाइ छ ।

तनावका कारण आत्महत्या वैदेशिक रोजगारीले घरमा पैसा मात्रै भित्र्याएको छैन । पैसा सँगसँगै अरु धेरै समस्याहरु पनि भित्रिएका छन् । यस्तै मध्येको एउटा समस्या हो स्वास्थ्य समस्या ।

मानसिक स्वाथ्य समास्याकै कारण कतिले विदेशमा आत्महत्या पनि गरेका छन् । पछिल्लो १० वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ८९२ ले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डको तथ्याँक अनुसार गएको वर्ष मात्रै १११ जनाले विदेशमा आत्महत्या गरेका छन् । मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘कल्चरल सक्ड’, परिवारसँगको विछोडका कारण एक्लोपन महसुस हुनु, मानसिक तनाव, कार्यस्थलको तनावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको बताउनुभयो ।

सिभिल अस्पतालका मनोचिकित्सक डा. दिनेशकुमार लम्साल मानसिक समस्यासँगै शारीरिक समस्या पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुहुन्छ । ‘वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गर्ने प्रचलन रहेको छैन, फर्केका व्यक्तिमा पनि उत्तिकै समस्या छ’, उहाँले भन्नुभयो, ‘शारीरिक परीक्षण मात्र गरिन्छ, मानसिक समस्या भएका व्यक्तिले कसरी काम गर्छन्, त्यसतर्फ बेलैमा सोच्नुपर्छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक प्रारम्भिक अध्ययनबाट १३ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारमा झन् यो समस्या ठूलो छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभागका प्रमुख सरोज ओझा वैदेशिक रोजगारीमा गएका व्यक्ति मात्र नभई परिवार पनि मानसिकरुपमा विक्षिप्त हुने गरेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारीबाट मानसिक समस्या झेलेर उपचारको खोजीमा शिक्षण अस्पताल आएका व्यक्तिको अध्ययन गर्दा ३० प्रतिशतमा ‘डिप्रेसन’को समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

‘वैदेशिक रोजगारीमा जानु पहिले मानसिक स्वास्थ्य जाँच गरिनु अत्यन्त आवश्यक छ, गन्तव्य देशमा पनि मानसिक उपचारका लागि संवाद गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अब गन्तव्य देश पनि जिम्मेवार बन्नुपर्छ, साधारण मानसिक समस्या भएरै विदेशबाट कामदारलाई फर्काइनु हुन्न ।’

उपचार सम्भव छ

शिक्षण अस्पतालमा उपचार गर्न आउने बिरामीमाथि गरिएको अध्ययनले मानसिक समस्या हुनेमध्ये ३० प्रतिशतमा डिप्रेशन, २० प्रतिशतमा एन्जाइटी, १० प्रतिशतमा रक्सीको कारण र १० प्रतिशतलाई मात्र कडा खालको मानसिक रोग लागेको डा. ओझा बताउनुहुन्छ ।

धेरैलाई त सामान्य औषधी र परामर्शबाटै निको हुने उहाँ बताउनुहुन्छ । मनोविद् ठगुन्ना ‘साइको थेरापी’ र ‘काउन्सलिङ’बाट ९० प्रतिशत मानसिक रोगको समाधान हुने बताउनुहुन्छ ।

‘यो धेरै खर्चिलो पनि छैन, देशका स्वास्थ्य संस्थासँग सम्पर्क राखिदिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतम पछिल्लो समय अभिमुखीकरण पाठ्यक्रममा परिमार्जन गरी मानसिक समस्या, तिनको समाधानका उपायबारे कामदारलाई अभिमुखीकरण दिने गरिएको बताउनुहुन्छ ।

पछिल्लो समय प्रस्थान पूर्व, प्रस्थान गर्दा, गन्तव्य मुलुकमा हुँदा र स्वदेश फर्कदा आइपर्ने मानसिक समस्या समाधान गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदै आइएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णु गैरे कामदारलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिनुपर्ने बताउनुहुन्छ । कामदारको मनोपरामर्शमा सरकारसँग सहकार्य गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ मानसिक समस्यामा पर्ने नेपाली कामदारको सङ्ख्या अधिक रहेको पाइएको हुँदा अभिमुखीकरणको क्रममा तनाव व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुहुन्छ ।

मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर र यो आयोगको चासोको विषयसमेत भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया