जब म जुत्ता नभएर नदौडने निर्णयमा पुगेकी थिएँ...

 पुस १०, २०७६ बिहिबार १८:३०:३६ | सन्तोषी श्रेष्ठ
unn.prixa.net

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका–६ सुनखानीमा जन्मिएकी सन्तोषी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग)को १० हजार मिटर एथ्लेटिक्समा स्वर्ण पदक जितिन् ।

एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला बनेको समेत श्रेष्ठलाई सुरुमा हेक्का भएन । भारतकी कविता यादवलाई १० मिलिसेकेण्डले हराउने उनै कीर्तिमानी सन्तोषीको अनुभव :

म सानैदेखि उफ्रेरै हिँड्थे । कहिल्यै बिस्तारै हिँड्नै नजान्ने । कुनै समय दिक्क र नरमाइलो लाग्यो भने मात्रै सुस्तरी हिँड्ने । मेरो हिँडाइ देखेर सबैजनाले भन्ने गर्थे, ‘यो सन्तोषी केटी मान्छे भएर पनि कसरी हिँडेकी? अलि बिस्तारै हिँड्नुपर्छ ।’ मान्छेहरुले ‘केटी मान्छे’ भन्ने शब्द बोल्नेबित्तिकै मलाई झन दौडिएर हिँड्न मन लाग्थ्यो ।

मेरो बाजे र ममीले पनि मलाई यसरी हिँड्न हुँदैन भनेर सम्झाउँनु हुन्थ्यो । आमाले भने केटी भएर यसरी किन हिँडेकी भनेर कहिल्यै भन्नुभएन । उहाँले त बरु सन्तोषी एकदमै छिटो हिँड्छे । यो त चरा हो भनेर फुर्काइ राख्नुहुन्थ्यो । जहाँ पनि मलाई नै पठाउँनु हुन्थ्यो । म कुदेको, छिटो हिँडेको देखेर मेरी आमा र हजुरआमा एकदमै खुसी हुनुहुन्थ्यो ।

गाउँमा घाँस दाउरा र गोठालो त गर्नु नै पर्छ । घाँसको भारी बोकेर पनि म निक्कै छिटो घर पुग्थेँ । मलाई भाइ भएर अलिक सहयोग भए जस्तो लाग्छ । म सधैँजसो भाइसँगै खेल्थेँ । कहिले मोजाको बल त कहिले डण्डिबियो खेल्थ्यौँ ।

सायद, केटी मान्छेले खेल्ने भाँडाकुटी लगायतका खेलहरु त मैले कहिल्यै खेलिनँ होला । भाइसँगै उफ्रने, हाम्फाल्ने गर्थेँ । सानोमा मलाई दौडिएर भेट्टाउन कसैले सक्दैन थियो । डण्डिबियो खेलेको बेलामा म सधैँ हार्ने । अनि हारेपछि कुद्ने पालो मेरै हुन्थ्यो ।

मेरो दाइ केदार श्रेष्ठ पनि काठमाण्डौमा नै पढ्नुभएको हुनाले मलाई पनि बुबाले यहिँ पढाउँने निर्णय गर्नुभयो । यहाँ आएपछि पनि स्कुल जान सधैँ हतार हुने । कहिले पानीको लाइन बस्नुपर्ने त कहिले अनेक कामले सधैँ स्कुल जान ढिला हुन्थ्यो । जतिखेर पनि कुदिराख्नुपर्ने । पहिले पहिले गाडी चढ्दा निक्कै जामको सामना गर्नुपथ्र्यो ।

म त काठमाण्डौका रुटहरु प्रायः हिँडेर नै यात्रा गर्ने गर्छु, अहिले पनि। सुरुमा पैसा बचाउनुपर्ने भएकाले पनि होला सायद । स्वयम्भूदेखि सुन्धारासम्म प्रायः हिँडेरै यात्रा गरिन्थ्यो । बाटोमा हिँड्दा मलाई कसैले उछिनेर अघि गयो भने चित्त बुझ्दैन थियो । म पनि के कम ।  अगाडि गएको मान्छे भन्दा झन् अगाडि गएर छिटो छिटो हिँड्थेँ ।

सायद त्यो नै ‘बेसिक ट्रेनिङ’ भएर होला आज मैले यो सफलता हासिल गरेकी । जुत्ता नभएर के भयो त ? च्यारच्यारे चप्पलमै दौडियो डल्लुमा रहेको गीतामाता माध्यमिक विद्यालयबाट मैले शिक्षा हासिल गरेकी हुँ । विद्यार्थीहरु धेरै थिए । एक आपसमा साथीहरुबीच चिनजान गर्न निक्कै गाह्रो । विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप हुन्थ्यो । खेलकुद भने निक्कै कम हुन्थ्यो । 

एकपटक विद्यालयमा दौड प्रतियोगिता भएको थियो । त्यतिखेर मलाई खासै कुद्न मन थिएन । सबैजनाले मलाई कुद्न भनेर हौसल्ला दिए । अरुले नै प्रतियोगितामा भाग लिन भनेपछि मैले नाम लेखाएँ । तर कुद्नका लागि निक्कै चुनौती थियो । मसँग कुद्नका लागि जुत्ता थिएन । रोडमा कुद्नुपर्ने भएकाले हटाउँ कि जस्तो लाग्यो । अरुभन्दा पनि जुत्ता नभएकाले निक्कै लाज लाग्यो ।

नदौडिने भनेर नाम हटाउन गएँ । नाम हटाउन पनि दुई सय रुपैयाँ जरिबाना तिर्नुपर्ने भयो । तर मसँग दुई सय रुपैयाँ थिएन । भन्न पनि अप्ठ्यारो लाग्यो । अनि दौडने निर्णय गरेँ ।  त्यतिखेर दाइहरु गाउँमा जानुभएको थियो । जुत्ताको बन्दोबस्त गर्न सकिएन । सायद उहाँहरु भइदिएको भए जुत्ता किनिदिनुहुन्थ्यो होला । भाइलाई पनि डर थियो ।

जुत्ता नभएकोले दिदीले कुद्न नसकेर हार्लिन् कि भन्ने । त्यतिखेर मसँग जुत्ताको नाममा एक जोर कालो प्लाष्टिकको जुत्ता त थियो । तर, सानो भइसकेको । त्यो जुत्ताले खुट्टामा घाउ बनाउँथ्यो । मैले स्कुलमा राम्रो अंक ल्याएको भनेर दशैंमा बुबाले च्यारच्यारे चप्पल किनिदिनुभएको थियो । म त्यही चप्पल लगाएर दौडिँए । भाइको आकलनभन्दा फरक नतिजा आयो । म ‘प्रथम’ भएँ । 

त्यतिबेला भाइले पनि भाग लिएको थियो । तर पुरस्कृत हुनभने सकेन । मेरो जितले भाइको मन जित्यो । उ खुसीले निक्कै गद्गद् भयो । त्यो नै हो मैले कहिले पनि बिर्सन नसक्ने पहिलो प्रतियोगिता ।

दौडिएर नाम कमाइन्छ भन्ने थाहा थिएन  

दौडिएर नै भविष्य बनाउँछु भनेर मैले कहिल्यै सोचिनँ । आजभन्दा २ वर्षअघि पनि भविष्यबारे त्यसरी सोचेकी थिइनँ । जे गर्छु, गरुन्जेल राम्रो गर्छु भन्ने चाहिँ लागेको थियो । धेरै प्रतियोगितामा भाग लिने र जित्ने गर्दागर्दै मलाई थप हौसला मिल्न थाल्यो । तर, म एकदमै हावाको भरमा हिँड्ने । मन लागेको बेला खेल्ने नत्र नखेल्ने । तर, खेलेको बेलामा चाहिँ एकदमै ध्यान दिएर खेल्ने गर्थेंँ । 

लक्ष्मण मल्लले मलाई प्रशिक्षण दिनुहुन्थ्यो । पढाइलाई पनि अघि बढाउनुपर्ने भएकोले मैले सबैमा सहभागी हुन पाउँदिन थिएँ । सागमा स्वर्ण त जितियो तर, अहिले पनि दौडमा मात्रै भविष्य बनाउँछु भनेर सोचेकी नै छैन । सबैभन्दा पहिले त पढाइलाई मजबुत बनाउनुपर्यो नि होइन ? पढाइलाई अघि बढाएर खेलमा पनि थप मजबुत बन्ने सोचमा छु ।

१० मिलिसेकेण्डमा स्वर्ण जित्दाको त्यो क्षण  

सायद म यो क्षेत्रमा आउँछु भन्ने मलाई नै थाहा थिएन । थाहा नहुँदा नहुँदै म कसरी कसरी यो क्षेत्रमा प्रवेश गरिसकेछु । १३ औंँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण नै जित्छु भनेर भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्छु भनेर लागेकी थिएँ । त्यही अनुसार तयारीमा जुटेकी थिएँ ।

जब प्रतियोगिता सुरु भयो, सुरुदेखि नै मैले अग्रता कायम गरिरहेकी थिएँ । कुनै पनि खेलमा एकजनाले मात्रै २५ चक्करसम्म ‘लिड’ गर्ने भन्ने विरलै पाउँछौँ ।

अनि फेरि सुरुमा अग्रता कायम गर्नेलाई जित्न धेरै गाह्रो पर्छ भन्ने धेरैको आकलन थियो । सुरुमा अग्रता कायम गर्नेलाई चाँडै नै थकाइ लाग्ने भएकोले मलाई कताकता नजित्ने पो हो कि भन्ने डर चाहिँ लागेको थियो ।

मैले ‘लिड’ गरे पनि सबैलाई र म आफैँलाई पनि भारतकी धाविकाले नै ‘किक’ हान्ने हो कि भन्ने डर थियो । भारतकी धाविकाले अन्तिम समयमा बिस्तारै बिस्तारै मेरो ‘साइड’ पेल्दै आउनुभयो । मलाई बल प्रयोग गर्ने ठाउँ नै पुगेन । अनि मैले अर्को ‘साइड’ पेलेर अघि बढेँ । त्यतिखेर हामी एकैचोटि तोकिएको घेरामा पुगेको जस्तो लागेकोले म नै प्रथम भएँ भन्नेमा चाहिँ ढुक्क थिइनँ । 

पछि नतिजा आउँदा म १० मिलिसेकेण्डले पो स्वर्ण पदक विजेता बनेछु  । त्यतिबेला म निक्कै खुसी भएँ । सबैजनासँग खुसी साटेँ । मेरो गुरु रघु, मलाई हरेक कुरामा सहयोग गर्ने दाइ केदार श्रेष्ठ, भाइ, लक्ष्मण मल्ललगायत मलाई सहयोग गर्नुहुने सबैजना र परिवारलाई सम्झिँए । त्यतिबेलाको त्यो क्षणबारे वर्णन गर्ने मसँग अरु कुनै शब्द छैन ।

परिवारको सहयोग    

परिवारको सहयोग नभइ केही  गर्न सकिँदैन । खेलकुद, त्यो पनि पढाइसँगै अगाडि बढाउँनुपर्ने र त्यसमा पनि म केटी मान्छे । पहिले जागिर पनि गर्थेँ । जागिर नै छाडेर खेलकुदतिर लाग्दा चाहिँ धेरैले नाक खुम्च्याएका थिए । खेलकुदलाई छाडेर पढाइलाई अघि बढाउन परिवारबाट भने धेरै सल्लाहहरु आए ।

तर, मैले खेललाई नै अघि बढाउने निधो गरेँ । सुरुमा यो क्षेत्रमा नलाग्न आग्रह गर्नुहुने परिवारले मलाई निक्कै सहयोग गर्नुभयो । परिवारको सहयोग नभएको भए म यहाँसम्म कहाँ आइपुग्थेँ होला र ?अब कति कुदिरहँने ? स्कुल हुन्जेल पो जे पनि गर्न पाइन्छ अब छाडिदेउ दौडन भनेर धेरै दवाब आयो ।

आफ्नै फिल्डमा काम गर ।  जागिर खाउ ।  पढाइलाई अघि बढाउ । यो दौडने काम गर्न छाडिदेउ भनेर परिवारबाट धेरै दबाव आए । तर मैँले दौडिन छाडिँन । कुदेर स्वास्थ्य पनि बिग्रन्छ। गाह्रो हुन्छ भन्ने कुरा त मैले कति सुन्नुपर्याे कति । तर, त्यसको कुनै पर्वाह नगरी अघि बढिरहेँ । परिवारले पनि सहयोग गर्दै जानुभयो । 
दाइबाट प्रेरणा स्कुल पढ्दा नेपालभरको निबन्ध प्रतियोगिता भएको थियो ।

त्यसमा केदार श्रेष्ठ दाइले भाग लिनुभयो । उहाँ नेपालभरबाट दोस्रो हुनुभयो । म त्यतिखेर भर्खरै ५ कक्षा पढ्दै थिएँ । उहाँले राष्ट्रिय प्रतियोगितामा दोस्रो पुरस्कार पाउनुभएसँगै मलाई केही गर्छु भन्ने आशा लागेर आयो । राष्ट्रिय प्रतियोगिता जितेको मेरो दाइबाट प्रेरणा लिएर केही गर्नुपर्छ भन्ने लाग्थ्यो । दाइकै प्रेरणाले मैले मिहेनत गरे । 

त्यतिबेला, उहाँको सफलतामा म निक्कै खुसीले गद्गद् भएकी थिएँ । अहिले मेरो सफलतामा उहाँ गद्गद् हुनुभएको छ । दाइसँगै लक्ष्मण मल्ल र मेरो भाइ पनि मेरो प्रेरणाको स्रात हुन् । मेरो सफलतामा आमाबुबाको पनि ठूलो हात छ ।

बिर्सनै नसक्ने क्षण

म आज पनि सम्झिन्छु ।  आफैँले प्रतियोगिताहरु खोजेर जानुपथ्र्यो । विद्यालयले यस्ता कुराहरुमा खासै सक्रियता देखाउँदैन थियो । अरु प्रतियोगितामा जाने साथीहरुलाई गाडीसहितको व्यवस्था हुन्थ्याैँ । मलाई भने न दौडने ठाउँ हुने न स्कुलले चासो दिने । विद्यालयले कुनै मतलब नगरे पनि म आफैँले प्रतियोगिता खोजेर दौडन जाने गर्थेँ । 

अर्को कुरा, प्रतियोगितामा सहभागी भएर जिते पनि निर्णायकले अरुकै नाम भनिदिन्थ्यो । मलाई लाग्थो, पुरस्कार नदिए पनि नाम चाहिँ भनिदिएको भए हुन्थोँ । ठूलो समूहका सानो आवाज नसुनिने भएर पनि होला त्यस्तो भएको । 

त्यो दिनहरु सम्झँदा मलाई आज पनि निक्कै दुःख लागेर आउँछ । अनि अर्को बिर्सन नसक्ने क्षण भनेको मैले लिगलिगे दौड चार पटक जिँते । धरान दौड, अन्य राष्ट्रिय दौड प्रतियोगिताहरुमा पनि पुरस्कृत भएँ । मैले आठौँ राष्ट्रिय खेल पनि खेलेको थिएँ । सबैभन्दा बिर्सन नसक्ने भनेको चाँहि १३ औँ सागमा १० किलोमिटर र ५ किलोमिटरको एथ्लेटिक्स नै हो ।  

खेलाडीले पढ्दैनन्, पढ्ने मान्छेले खेल्दैनन् भन्ने मान्यता तोड्छु । अहिले पनि खेलाडीले पढ्दैनन् ।  अनि पढ्ने मान्छेले खेल्दैनन् भन्ने मान्यता छ । म त्यो मान्यता तोड्ने कोशिस गर्दैछु । त्यो भ्रमलाई हटाउन पनि म पढाइलाई अघि बढाउँछु । स्नातक तहको पढाइ सकिसकेको छु ।

अब स्नातकोत्तरको पढाइ पनि अघि बढाउँछु । सँगसँगै खेललाई पनि लैजान्छु । पढेर पनि खेल्न सकिन्छ भनेर म देखाउँन चाहन्छु । अहिले १३ औँ सागका कारण पढाइ रोकिएको छ । अब चाँहि पढ्नुपर्छ भन्ने लागेको छ ।

खानपानको व्यवस्थापन   

म पहिलेदेखि नै खानपानमा त्यति ध्यान नदिँने । थोरै खाएर हिँड्ने अनि जे पाए त्यहीँ नखाने । खानपानमा ध्यान नदिँदा मैले सजाय भोगेकी छु । खानामा व्यवस्थापन गर्न नसक्दा मलाई ‘ग्याँस्ट्रिक’ भयो । त्यसपछि मैले झण्डै २ महिना प्रशिक्षण नै गर्न पाइनँ ।

मलाई एकदमै पेट दुख्न थाल्यो ।  त्यसपछि चाँहि बरु खाना खान्छु, मेरो पेटचाँहि नदुखोस् भन्ने लाग्थ्यो । त्यसपछि चाँहि मैले खानपानलाई नियमितता गर्ने, चिल्लो पदार्थ कम खाने, फलफूलहरु खाने गर्न थालेँ । 

अन्त्यमा,

समस्या नभएको क्षेत्र त कहाँ पो होला सायद । यो क्षेत्रमा लागेका खेलाडीलाई पनि निक्कै गाह्रो छ । भौतिक संरचना छैनन् । जितेको समयमा मात्रै वाहवाही हुनेगर्छ। त्यसपछि गुमनाम । कति राष्ट्रिय खेलाडीहरु विदेशिनु परेको अवस्था छ ।

मेरो कुरा गर्ने हो भने पनि दौडने ठाउँ छैन् । बाटोमा दौडँदा विभिन्न अवरोध हुनेगर्छ । सरकारले केही प्रयास त गरिरहेकै होला । खेल क्षेत्रलाई अझ बढी व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

(टेकमान शाक्यसँगको  कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन ३०, २०८०

सन्तोषी श्रेष्ठ

श्रेष्ठ १३औंँ दक्षिण एसियाली खेलकुद (साग)को १० हजार मिटर एथ्लेटिक्समा स्वर्ण पदक विजेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया