एसएसपी नै यात्रु बनेर गएपछि...

 पुस १७, २०७६ बिहिबार १९:४४:३६ | रासस
unn.prixa.net

काठमाण्डाै - सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीमप्रसाद ढकाल बिहीबार अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाण्डौका विभिन्न क्षेत्र घुम्नुभयो ।
 
उहाँले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको यात्रा गरेरै अनुगमन गर्नुभयो । ट्याक्सी चालकले गर्ने व्यवहारदेखि सडकमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा गरेको गतिविधि पनि उहाँले नियाल्नुभयो ।

‘हरेक दिनजसो नै सर्वसाधारणबाट गुनासो आउन थाल्यो, कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली गर्‍यो, कसैले जथाभावीरूपमा ओराल्यो भनेर पटक–पटक गुनासो आइरह्यो, त्यसैले अवस्था के रहेछ त भनेर बुझेँ’, ढकालले भन्नुभयो ।
 
बिहीबार अपराह्न झण्डै २ बजे सिमसिम पानी परेकाले मौसम चिसो थियो । उहाँले काठमाण्डौको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर यात्रा गर्नुभयो । कहिले सार्वजनिक बस त कहिले ट्याक्सीमा चढेर चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे नजिकबाट नियाल्नुभयो ।

‘विगतको भन्दा सार्वजनिक यातायात धेरै सुध्रिएको देखियो, तर अझै समस्या भने कायमै छ’, एसएसपी ढकालले अनुभव सुनाउनुभयो ।

यतिले मात्रै पुग्ने नदेखिएको भन्दै अझै धेरै गर्न बाँकी रहेको उहाँले प्रतिक्रिया दिनुभयो । ढकालका अनुसार सार्वजनिक सवारी साधानको सिट घुँडा राख्न नमिल्ने गरी साँघुरो पाइएको छ । ट्याक्सी चालकले हत्तपत्त मिटरमा नजाने गरेकोसमेत पाइएको उहाँले बताउनुभयो । 

रत्नपार्कबाट उहाँले प्रदेश ३–०१००२ ज ५९९७ लेखेको ट्याक्सी चढ्नुभयो । ‘सिंहदरबारसम्मको कति भाडा?’, उहाँले सोध्नुभयो, ‘त्यही दुई सय जति दिनुस् न मिलाएर’, चालक रामेछापका केशव श्रेष्ठले जवाफ फर्काउनुभयो । ‘यति नजिक पनि २०० मिटर छैन’, उहाँले फेरि सोध्नुभयो, ‘भए पनि थोरै पैसा उठ्छ नि सर, त्यही भएर’, चालकको जवाफ आयो ।
 
एकछिन कुरा गरेपछि चालकले मिटरमा जाने भए मिटर पनि लगाउँछु भन्दै मिटर अन गर्न पुगे । अन्ततः मिटरमा ६० रुपैयाँ उठ्यो । ढकालले पैसा तिरेर आगामी दिनमा यसरी बढी भाडा नभनी मिटरमा जान चेतावनी दिनुभयो । अनुगमनका क्रममा यात्रुलाई सहचालकले गर्ने व्यवहार राम्रो नभएको देखिएको र यात्रुलाई बस्नसमेत सकस भएको पाइएको बताउँदै यसलाई नियन्त्रणका लागि आवश्यक पहल गरिने प्रतिक्रिया दिनुभयो ।

पैसा लिएपछि यात्रुलाई त्यही अनुसारको सेवासुविधा दिन सक्नुपर्छ, सरसफाइ र सिटको सहज व्यवस्था गर्नुपर्छ, यसतर्फ अझै ध्यान नपुगेको पाइएको उहाँले बताउनुभयो । धेरै ट्याक्सीले मिटरमै गएको पाइए पनि छोटो यात्रामा भने मिटरमा जान नमान्ने गरेको समेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार यात्रुलाई यात्राका समयमा एउटा समस्या हो तर चालकले ट्राफिक नियम पालना नगरेका कारण दुर्घटना बढ्ने अर्को जटिल समस्या छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिने प्रहरीको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Suresh Raj Pahari

    Jan. 3, 2020, 9:05 p.m.

    Dear Mr.ssp Sahab, it would very nice if you could tell your traffic police man to check tripal and changed them when they are teared. 90% tippers have teared tripal. NO tippers tripals are tightend tightly tippar and nissan truck? They are the main cause of the in the main roads .I see every day tippers are crossing bhaktapur than not and nakhuu with over loaded condition and they are spilling of sands and gravel and even big stones in the middle of the main roads. I hope maybee you do some thing better

  •  0 Reply

तपाईको प्रतिक्रिया