चालकले अब चप्पल लगाउन नपाउने, गाडीमा लेखिएका ‘स्लोगन’ र ‘कोटेसन’ मेट्नुपर्ने

 पुस १८, २०७६ शुक्रबार १४:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सबै प्रकारका गाडी चलाउँदा अनिवार्यरुपमा जुत्ता लगाउन अनुरोध गरेको छ ।

चप्पल लगाएर गाडी चलाउँदा चप्पलको फित्ता अड्किएर दुर्घटना बढेको पाइएकाले सबै प्रकारका गाडी चलाउँदा जुत्ता लगाउन अनिवार्य गरिएको यातायात व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता तीर्थराज खनालले बताउनु भयो । 

उहाँले गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउनु भयो । यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिममा स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्ड्याउन, गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भए हटाउन पनि विभागले आग्रह गरेको छ । 

दुर्घटना हुनुको कारणमध्ये ८० प्रतिशत चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्त मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको हो ।

यसैगरी लामो दुरीमा चल्ने गाडीको ढोकामा नै यात्रु क्षमता र गाडीमा रहेका यात्रुको संख्या टाँस्न, लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा प्रयोग गर्ने प्रयोजनमा रिसोलिङ गरेको टायर अगाडिको चक्कामा नराख्न र लामो तथा छोटो दुरीका गाडीमा अनिवार्य भाडादार टाँस्न पनि विभागले अनुरोध गरेको छ ।

यातायात क्षेत्रमा संलग्न विज्ञसँगको छलफलबाट बढ्दो दुर्घटना कम गर्न यी उपाय अपनाउन सुझाव दिइएको विभागका निर्देशक एवं प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । 

यी सुझाव पालना नगरेको पाइए ट्राफिक प्रहरीले नियमअनुसार कारबाही गर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • pawan kc

    Jan. 6, 2020, 6:59 p.m.

    यात्रा गर्दा पुरा भाडा नदिने यात्रुलाई पनि "भाडा दिनै पर्ने" नियम बनाए राम्रो हुन्थ्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया