भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
बझाङ – अझै पनि सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा छाउपडी प्रथा व्याप्त छ । महिनावारीको समयमा घरको आँगनसम्म छुन नमिल्ने, घरभन्दा झण्डै ६/७ सय मिटर टाढा बसेर खानपिन गर्नु पर्ने प्रथा रहिआएको छ ।
सुत्केरी हुँदासमेत परम्पराका नाममा छाउगोठमा सुत्नु पर्ने, बच्चा जन्माउन तालिम र अनुभव बिनाका महिलाहरुको भर पर्नुपर्ने जस्ता बाध्यता छाउपडी प्रथाले समेटेको छ । यो प्रथाका कारण अहिले पनि बझाङका थुप्रै ग्रामीण बस्तीमा आमा र बच्चाले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।
छाउडी प्रथाकै कारण केही वर्षअघि सुनकोटीकी लक्ष्मी (लछी) देवी रावलले अकालमा ज्यान गुमाइन् । १८ वर्षकै उमेरमा वैवाहिक जीवन सम्हालेकी रावल कलिलै उमेरमा आमा बनिन् । नयाँ सदस्य थपिने खुशी परिवारमा छायो । तर, सुत्केरी ब्यथाको पीडामा रहेकी रावललाई अस्पताल वा स्वाथ्यचौकी हैन्, छाउगोठमा राखियो । अनुभव र तालिम बिनाका सुँडेनी (सुत्केरी हुँदा सहयोग गर्ने महिला) को भरमा सुत्केरी गराइयो ।
रावलले छोरा जन्माइन् । घरपरिवारमा खुशीयाली छायो । तर, त्यो खुशी लामो समय टिक्न सकेन । उनको लगातार रगत बगिरह्यो । रातको चिसो, छाउगोठको बसाई त्यसमा पनि लगातारको रक्तश्रावका कारण उनको ज्यान गयो ।
झण्डै आठ वर्षअघि तत्कालीन मोटेला गाविसकी अर्की महिलाले पनि ज्यान गुमाउनु परेको थियो । महिनावारीको समयमा छाउगोठमा सुतिरहेको बेला सर्पले टोक्दा उनको ज्यान गएको थियो । यी त प्रतिनिधि घटना मात्रै हुन् । छाउपडी प्रथाका कारण धेरै महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ । कतिपय महिलाहरु त बलात्कृत हुनु परेको छ ।
छाउगोठका कारण लगातार यस्ता घटना दोहोरिन थालेपछि सुनकोटीका स्थानीय छाउविरुद्धको अभियानमा लागेका छन् । लक्ष्मीदेवी रावलका श्रीमान धनबहादुर रावल भन्नुहुन्छ ‘पहिले भन्दा सुनकोटीमा अहिले आकाश–पातालको फरक आएको छ । छाउ गोेठमा बस्ने महिलाहरु आफ्नै घरमा बस्न थालेका छन् । सायद, पहिल्यै प्रथा हटेको भए मेरो श्रीमतीको अकालमा ज्यान जाने थिएन ।’ अहिले, सुनकोटीका महिलाहरुले नै छाउगोठ भत्काएका छन् ।
महिनावारी भएको समयमा खानु हुँदैन भन्नेहरु पनि अहिले मही, दही तथा गोरुष खान थालेका छन् । छाउ भएको समयमा घरभित्र बस्न पाएको खुसी साट्दै स्थानीय चाँदनी बम भन्नुहुन्छ ‘छाउगोठको बिरोधमा सबै महिलाहरु लाग्नु भएको छ । महिनावारीको समयमा घरभित्र बस्न पाइन्छ भन्ने सपनामा पनि सोचेका थिएनौँ । तर, अहिले घरमा नै ढुक्क भएर बस्छौँ ।’
सुनकोटीमा मात्रै नभई बुंगल नगरपालिकामासमेत महिनावारी भएको समयमा महिलाहरु घर भित्रै बस्ने गरेका छन् । सुदुरपश्चिम प्रदेशमा नै पहिलो पटक बझाङको बुंगल नगरपालिकालाई छाउगोठमुक्त घोषणा गरिएको छ ।
छाउगोठ भत्काउँदै प्रशासन
विशेषत, महिलाहरु यो प्रथाविरुद्ध सक्रिय रुपमा लागि परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउने अभियानलाई प्राथमिकताकासाथ अगाडी बढाएको छ । गएकाे सोमबारबाट प्रशासनले छाउगोठ भत्काउन सुरु गरेको छ ।
पालिकासँग समन्वयगरी छाउ गोठ भत्काउने अभियान तीव्र रुपमाअघि बढाइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर बमले बताउनु भयो । प्रहरीले दुई दिनको अवधिमा विभिन्न गाउँका ७ वटा छाउघर भत्काइ सकेको छ ।
थलारा, मटेला, दुर्गाथली लगायतका ठाउँमा छाउघर भत्काएको र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा छाउघर भत्काउन ताकेता गरिएको डिएसपी बमले जानकारी दिनुभयो । हालसम्ममा थलारा गाँउपालिकामा तीन वटा, मष्टा र दुर्गाथली गाँउपालिकामा एक वटा र छविस पाथीभेराका मोटेलामा दुई वटा छाउगोठ भत्काइएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले छाउपडी गोठमा बस्ने र बस्न लगाउने जो कोहीलाई तीन महिना कैद वा तीन हजार जरिवाना गरिने बताउनुभयो । छाउपडी प्रथा अवलम्बन गर्ने जो कोहीलाई कानुन अनुसार कारबाही गर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।