अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु मारिए

 पुस २०, २०७६ आइतबार २०:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ । 

आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अनियन्त्रित भएको बीबीसीले जनाएको छ । 

डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको पर्यावरणविद्हरुले दाबी गरेका छन् । उनीहरुले डढेलोका कारण संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको पनि बताएका छन् । आगलागीमा परेर २४ जनाको ज्यान गइसकेको छ ।

गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो आगलागी अझै केही महिना नियन्त्रणमा लिन नसकिने बताउनु भएको छ ।

आगो नियन्त्रणका लागि थप ३ हजार सुरक्षाकर्मी खटिएका पनि उहाँले बताउनु भएको  छ । तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ नागरिक भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । आगलागी भएको क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको त्यहाँ अधिकारीले बताएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया