बूढानीलकण्ठ कार दुर्घटना : नायिका परमिताले भनिन्– चार जनाकाे मूर्खतापूर्ण निर्णयले निर्दाेषकाे ज्यान गयाे

 पुस २३, २०७६ बुधबार १४:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको मङ्सिर २८ गते शनिबार बूढानीलकण्ठ नगरपालिका– ५ बसपार्कनजिकै भएको कार दुर्घटनाको एक महिनापछि नायिका परमिता राणाले मुख खोलेकी छिन् । 

बुधबार फेसबुकमा स्टाटस लेख्दै नायिका राणाले कारमा आफू पनि रहेकाे बताउँदै घटनाका बारेमा स्पष्ट पारेकी छिन् । गएको मङ्सिर २८ गते भएको कार दुर्घटनामा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको ज्यान गएको थियो । 

विष्णुमतीमा बस्दै आउनु भएकी देवकोटालाई बाटोमा हिँडिरहेको अवस्थामा बा १४ च ६१ २३ नम्बरको कारले ठक्कर दिएको थियो । अत्यधिक रक्सी सेवनका कारण कार अनियन्त्रित हुँदा देवकोटाको ज्यान गएको थियो ।

२१ वर्षीय पृथ्वी मल्लले हाँकेको कारमा चार जना सवार रहेको बताइएको थियो । परमिताले चार जनाको मूर्खतापूर्ण निर्णयले एक जना निर्दाेषको ज्यान गएको फेसबुकमा बताएकी छिन् । 

यसअघि प्रहरीले कारमा मल्लसहित करिश्मा मास्के, एलिना थापा र अर्की एक जना युवती रहेको बताएको थियो । अहिले ती युवती राणा नै भएको पुष्टि भएको छ । 

फेसबुकमा उनी अघि लेख्छिन्, ‘म त्यो घटनालाई एउटा नराम्रो सपनाको रुपमा मान्छु । घटनाको बारेमा जानकारी ढिलो दिनुपर्दा म माफी माग्न चाहन्छु किनकि म त्यो घटनापछि निकै तनावग्रस्त थिएँ ।’

उनले यो दुर्भाग्यपूर्ण घटनाले आफू निकै विक्षिप्त भएको र जीवन नै पूर्णरुपमा परिवर्तन गरिदिएको बताइन् । उनले आफू दुई वर्ष हुँदा कार दुर्घटनामा बुवालाई गुमाउनु परेको पीडा पनि फेसबुकमा व्यक्त गरेकी छिन् ।  

उनी अघि भन्छिन्, ‘कार दुर्घटनामा महिलाको मृत्यु भएको भन्ने खबर मैले घर आएर मात्र थाहा पाएँ र त्यसपछि के गर्ने, के नगर्ने मैले सोच्नै सकेको थिइँन ।’

‘कार दुर्घटनापछि एक जना साथी बाहिरको वातावरण हेर्न कारबाहिर गए र मेरो हात समातेर छिटो भाग् भन्दा म झसङ्ग भएँ । मेलै के गर्ने सुर नै पाइँन । त्यसपछि आमालाई फोन गर्न खोज्दा लागेन । त्यसपछि बाइकमा आएका एक जना स्थानीय व्यक्तिले मलाई यहाँ बस्नु सुरक्षित छैन भने र ट्याक्सीमा चढेर जसोतसो घर पुगेँ ।’ उनले स्टाटसमा लेखेकी छिन् । 

अन्त्यमा उनले त्यो घटनाले आफूलाई सधैँ सताइरहने र मृतक लीला देवकोटाको आत्माको शान्तिको कामना गरेकी छिन् । 

कार चालक मल्लविरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सवारी ज्यानसम्बन्धी सजायमा माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया