उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतप...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - मंसिरयता झ्याप्प झ्याप्प बत्ति जाने क्रम निकै बढेको छ । काठमाण्डौ उपत्यकामा विशेषगरी बिहान र बेलुकाको समयमा बत्ति आउने जाने भैरहँदा उपभोक्ता हैरान भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले विद्युतीय सामग्रीको प्रयोग बढाउनुहोस् भन्ने, तर खाना पकाउने बेलामा नै किन बत्ति गैरहन्छ भनेर उपभोक्ताले गुनासो गर्न थालेका छन् ।
‘हामीले त अब लोडसेडिङ हुँदैन भनेर पहिले इन्भर्टर थन्कायौँ, कवाडीलाई बेच्यौँ, तर अहिले बत्ति गएको गयै गर्छ, अब पुरानो इन्भर्टर छैन, नयाँ किन्न पैसा छैन ’, ललितपुर सुनाकोठीकी हिरादेवी महर्जनले उज्यालो अनलाइनसँग भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन भने पनि उपभोक्ताले भने लोडसेडिङकै महसुस गरिरहेका छन् । प्राधिकरणले खाना पकाउन पनि इन्डक्सन चुल्हो प्रयोग गर्नुहोस भनेको छ, तर उपभोक्ताले पहिला बत्ति दिनुहोस अनि बल्ल इन्डक्सन बालौँला भन्न थालेका छन् ।
‘प्राधिकरणले अनुमान गरेभन्दा धेरै माग, तर बिजुली नपुगेर लोडसेडिङ गर्नुपरेको हैन’
अहिले विद्युत अनियमित हुने समस्या काठमाण्डौमा धेरै रहेको नेपाल विद्युत प्राधिकरणको दावी छ । प्राधिकरणले काठमाण्डौमा योबेला बढीमा ३ सय ५० मेगावाट बिजुलीको माग हुने अनुमान गरेको थियो । तर काठमाण्डौ उपत्यकामा बिजुलीको माग अहिले पिक आवरमा ४ सय ५० मेगावाट नाघेको छ ।
‘काठमाण्डौमा हामीले अनुमान गरेको भन्दा धेरै बिजुलीको माग भएको छ, साढे ४ सय मेगावाट बिजुलीको माग भैरहेको छ, यति ठूलो माग धान्न हाम्रा उपकरणलाई मुश्किल भैरहेको छ ।’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो ।
अहिले देशभरको बिजुलीको माग १३ सय मेगावाट पुगेको छ । प्राधिकरणले माग जति धेरै बढे पनि लोडसेडिङको तालिका निकाल्न नपर्नेगरी माग र आपूर्तिको व्यवस्था मिलाइएको जनाएको छ ।
१३ सय मेगावाट बिजुलीको माग भएकोमा नेपाल विद्युत प्राधिकरणले बनाएका आयोजनाबाट ५ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । यस्तै निजी क्षेत्रले बनाएका आयोजनाबाट ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । अपुग ५ सय मेगावाट बिजुली भारतबाट आयात भैरहेको प्राधिकरणले जनाएको छ ।
संरचना सुधार गर्दा पनि बिजुली अनियमित भैरहेको दावी
नागरिकले बिजुली गैरहेको गुनासो गरिरहँदा विद्युत प्राधिकरणको पनि आफ्नै समस्या छ । काठमाण्डौमा सडक विस्तार भैरहेकाले बिजुलीको पोल सार्दा र रुख काट्दा बत्ती काट्नुपरेको, प्रसारणलाइन, सबस्टेशन र फिडरमा नयाँ उपकरण राख्दा र सुधार गर्दा पनि बत्ति नै काट्नुपरेको र पुराना उपकरण परिवर्तन गर्दा पनि बत्ति काट्नुपरेकाले केही क्षेत्रका उपभोक्ताले नियमित बिजुली नपाइरहेको विद्युत प्राधिकरणको दावी छ ।
‘हामीले अहिले उपकरण बनाउने र फेर्ने कामलाई तीव्रता दिइरहेका छौँ, समग्र प्रणाली सुधार भैरहेको छ, सुधारको लागि पनि त बिजुली काट्नैपर्छ, त्यसले पनि बेलाबेला बिजुली गएको छ, यो विस्तारै समाधान भैरहेको छ’, प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो ।
गएको वर्ष झण्डै १० हजार ट्रान्सफर्मर थपेको प्राधिकरणले यो आर्थिक वर्षको ५ महिनामा २ हजार ट्रान्सफर्मर परिवर्तन गरिसकेको छ । नयाँ फिडर थप्ने काम गरिरहँदा र बढी लोड भएको फिडरमा आउने लोडलाई नजिकै रहेको अर्को फिडरमा पठाउने काम पनि भैरहेको प्राधिकरणले जनाएको छ ।
यस्तै काठमाण्डौको विद्युत नियमित बनाउन भक्तपुरमा साढे २२ एमभीएको ट्रान्सफर्मर राखिएको र स्युचाटारमा ३० एमभीएको १३२/११ केभीको ट्रान्सफर्मर राखेको पनि प्रवक्ता अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।