नेपालले माग्यो चीनसँग त्यहाँको मौसम पूर्वानुमानको सूचना : चिनियाँ टाेली सकारात्मक

 पुस २३, २०७६ बुधबार १९:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले चीनमा मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन आग्रह गरेको छ ।

नेपालको १५ सय किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले चीनमा विपत्ति आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै त्यसबारेको पूर्वसूचना माग गरिएको हो । चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मौसमबारे पूर्वसूचना दिन आग्रह गर्नुभएको हो ।

नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संचरनाको सुरक्षा गर्न सूचना जरुरी भएको उहाँले औँल्याउनुभयो ।

पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले टोलीलाई गराउनुभयो ।

‘हाम्रा धेरै नदीहरु चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौँ’, मन्त्री पुनले भन्नुभयो, ‘बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ ।’

प्राकृतिक विपत्तिबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सचेतना अपनाउन सकिने उहाँको भनाइ थियो । सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उहाँले त्यसमा सहकार्य जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

‘हाम्रो विकासका पूर्वाधारको सुरक्षाका लागि चिनियाँ मौसमबारे पूर्वजानकारी नभइ भएको छैन’, मन्त्री पुनले भन्नुभयो ।

नेपालमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको र भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइहरेको भन्दै उहाँले पर्यटकीय दृष्टिले पनि मौसम पूर्वानुमानको महत्व बढी रहेको चर्चा गर्नुभयो ।

जवाफमा चिनियाँ टोलीको नेतृत्व गरेका त्यहाँको मौसम विभागका उपमहानिर्देशक युङफेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न तयार रहेको बताउनुभयो 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया