‘सत्तारुढ दलले संसदलाई दलगत अनिर्णयकाे बन्दी बनाए’

 पुस २७, २०७६ आइतबार १४:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दलगत अनिर्णयको बन्दी बनाएको भन्दै प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

संसद बैठक सत्तापक्षकै कारण महिना दिनदेखि अवरुद्ध हुनु सरकार र सत्तारुढ दलको संसदप्रतिको गैह्र जिम्मेवार व्यवहार रहेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा संसदको महत्व र गरिमामाथि सत्तारुढ दलबाटै प्रहार भएको उल्लेख छ । 

यौन दुर्व्यवहारकाे आराेप लागेर कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएपछि गएको तीनमहिनाबाट प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । सत्तारुढ दल नेकपाले सभामुख कसलाई बनाउने भन्ने बारे टुंगो लगाउन नसक्दा संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । 

गएको ११ गते र १६ गतेको बैठक सूचना टाँस गरेरै स्थगित भएकोमा आइतबारको बैठक पनि सूचना टाँस गरेरै स्थगित भएको छ ।  

नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि बढाउनु पर्नेमा सत्तारुढ दल आफैँमा विवाद गरेर संसदलाई छायाँमा पार्नु आपत्तिजनक र लज्जास्पद भएको कांग्रेसको ठहर छ । 

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन चेतावनी दिँदै निकासको मार्ग प्रसस्त गर्न पनि सत्तारुढ दललाई कांग्रेसले सचेत गराएको छ । 

यस्तै समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संसदलाई पंगु बनाउने काम भएको भन्दै आपत्ति जनाउनुभएको छ । एउटै दलको स्पष्ट बहुमत हुँदा पनि गुटगत खिचातानीका कारण संसद निष्काम हुने अवस्था आउनु र जनप्रतिनिधि मुकदर्शक भैरहनु लोकतन्त्र र कम्युनिज्म हुनै नसक्ने उहाँले बताउनुभयो । 

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा.भट्टराईले हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइएको सम्झँदै आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा पनि संसद बैठक सत्तारुढ दलबाटै स्थगित हुनु उपयुक्त नरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया