प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
डोटी - डोटीमा एक हप्तादेखि स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।
परम्पराका रुपमा मानिँदै आएको छाउपडी प्रथाको अन्त्यका लागी छाउगोठ भत्काउने अभियानलाई सक्रिय रुपमा अगाडि बढाइएकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार अभियान अन्तर्गत बडिकेदार गाउँपालिकामा रहेका १८ वटा छाउपडी गोठ भत्काइएको छ ।
पालिका–३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठहरु स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनको लागी विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।
उपरीक्षक देउवा भन्नुहुन्छ ‘प्रहरी आफैँ छाउपडी गोठ खोज्दै हिँडेको छ । गोठ देख्ने बित्तिकै भत्काउन आदेश दिएका छौँ । केही ठाउँमा स्थानीय आफैँले गोठ भत्काउन थालेका छन् ।’ छाउगोठ भत्काउनका लागी सरकारी र गैरसरकारी संस्थाले समेत सहयोग गरिरहेका छन् ।
अभियानलाई सफल पार्न पालिकासँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छाउगोठ कहाँ–कहाँ कति छन्, सूचना लिएका छौँ । त्यही आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ । अब, छाउगोठ बनाउनेलाई कडा कारवाही गर्छौँ।’
डोटीलाई आउँदो फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने योजना रहेको छ । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले डाेटीलाई फागुन मसान्तसम्म छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।
अभियानलाई बेवास्ता गर्नेलाई पालिकाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गर्नुका साथै कानुनी कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शीर निहुँर्याएकाे छ । त्यसैले शसक्त रुपमा छाउपडी गोठ भत्काउन लागी परेका हौँ ।’
आफ्नो पालिकामा प्रहरीसँग सहकार्य गरेरै जनचेनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा मानिँदै आएको यस विकृतीको अन्त्यका लागी छाउगोठ भत्काउन सबै पालिकालाई पत्राचार गरिसकेको छ । डाेटीमा कम्तीमा पनि एक सयको हाराहारीमा छाउगोठ रहेको अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।