दिलीप महतो हत्या प्रकरणकाे निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगकाे निर्देशन

 पुष २७, २०७६ आइतबार १७:५८:१७ | रासस
unn.prixa.net

राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक ओमप्रकाश भनिने दिलीप महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएकाे छ ।  

धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही पुस २५ गते औरहीखोलामा टिपरले टाउकामा कुल्चाएर हत्या गर्ने दोषीमाथि छानबिन गरी कारवाही गर्न निर्देशन दिएकाे हो । 

“निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिर्पूितका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।  

आयोगका अध्यक्ष अनुपराज शर्माले यस घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजीकबाट अनुगमन गरिरहेको बताउनुभयो । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लङ्घन भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यसै सन्दर्भमा वातावरण संरक्षण अभियानकर्मीको टोलीले आयोगमा आइतबार ज्ञापनपत्र बुझाएको थियो । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दै उनीहरुले आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया