राष्ट्रिय सभामा पेश भयाे रेल्वे विधेयक : यात्रुमाथि फोहोर फाले ५० हजार जरिबाना हुने

 पुस २७, २०७६ आइतबार १९:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– बहुप्रतिक्षित रेल्वे विधेयक राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले रेल्वे विधेयक २०७६ पेश गर्नुभएको हो । 

बैठकमा भएको प्रारम्भिक छलफलमा सांसदहरुले विधेयक ढिलै भए पनि संसदमा पेश भएर छलफल गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । साथै सांसदहरुले विधेयकमा भएका कमी कमजोरीलाई हटाउँदै समृद्ध बनाउन आफूहरुले भूमिका खेल्ने बताएका छन् ।

सांसद वृषेशचन्द्र लालले रेल्वे नेपालको विकासमा महत्वपूर्ण हुने तर यस अघिका कुनै पनि सरकारको ध्यान त्यता नगएको बताउनुभयो । उहाँले सरकारले रेलको विकास गर्न भन्दा पनि चीनले रेल बनाइदेला, भारतले रेल बनाइदेला भन्ने मानसिकताले विधेयक ल्याएको बताउनुभयो ।

विधेयकमा रेल्वे बाेर्डको व्यवस्था भए पनि रेल्वेको विकास हुने योजना नभएको भन्दै परिमार्जनको आवश्यकता रहेको बताउनुभयो । 

सांसद प्रमिला कुमारीले रेल्वे विधेयकमा सरकारले रेल्वे सञ्चालनमा अवरोध पुर्‍याउनेलाई अन्य सजाय भन्दा जरिवानालाई प्राथमिकता दिएको बताउनुभयो । 

रेलमा धुलो, यात्रुमाथि फोहोर वा अन्य कुनै वस्तु फाल्ने गरेमा ५० हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था हटाइनुपर्ने उहाँले बताउनुभयो । रेल्वे कम्पनी र रेल्वे विभागको सट्टा रेल्वे वोर्ड र कार्यकारी समिति रहने व्यवस्था गरिएको यसका सदस्य संख्या बढाउनुपर्ने बताउनुभयो । 

सांसद राधेश्याम अधिकारीले भारत र चीनमा रेल्वेको ठूलो सञ्जाल भएको र उनीहरुले प्रविधिमा निकै फड्को मारेको भन्दै नेपालमा पनि रेल्वे नल्याइकन विकास सम्भव नभएको बताउनुभयो । 

सांसदहरुको प्रतिकृयापछि यातायात मन्त्री नेम्वाङले सरकारले समय र परिस्थितिको आवश्यकता र माग बमोजिम नीतिगत रुपमा व्यवस्थापन गर्न विधेयक ल्याएको बताउनुभयो । 

उहाँले केही सैद्धान्तिक, नीतिगत र प्राविधिक सुझावहरु आएको भन्दै समयसापेक्ष रुपले विधेयक ल्याइएको बताउनुभयो । उहाँले विकासका लक्ष्यलाई पूरा गर्न ठूला परियोजना निर्माण बनाउनु आवश्यक भएको र रेल्वे यातायातको मार्गहरु विकास गर्दै अगाडी बढ्नुको विकल्प नभएको समेत बताउनुभयो । 

२०२० को रेल्वे ऐनले अहिलेको अवस्थामा काम गर्न नसक्ने र २०५९ मा आएको अध्यादेशले रेल्वे ऐन खारेज गरेकोले पनि विधेयक अतयावश्यक रहेको बताउनुभयो । उहाँले पेट्रोलिय मदार्थको आयात कम गर्न र व्यापार घाटा कम गर्न पनि विद्युतीय रेल्वेको परिकल्पना गरिएको बताउनुभयो ।

त्यसलाई व्यवस्थापन गर्न श्वशासित अभिछिन्न अंगको रुपमा रेल्वे वोर्डको परिकल्पना गरिएको र त्यसलाई सहयोग पुर्‍याउन कार्यसमिति बनाउने व्यवस्था गरिएको बताउनुभयो । राष्ट्रिय सभामा पेश भएको रेल्वे विधेयकमाथि समितिमा पनि छलफल हुने छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया