जापानी अर्बपति चन्द्रमा भ्रमणमा जान ‘जीवन साथी’ खोज्दै !

 पुस २८, २०७६ सोमबार १३:२९:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानका अर्बपति युसाकु मेजावा चन्द्रमामा जान महिला जीवन साथी खोजिरहेका छन् । ४४ वर्षीय व्यापारी अन्तरिक्ष कम्पनी स्पेस एक्सबाट चन्द्रमामा जाने संसारकै पहिलो पर्यटक बन्दै छन् । 

स्पेस एक्सले सन् २०२३ सम्ममा मेजावालाई चन्द्रमामा पठाउने योजना बनाएको छ । सन् १९७२ पछि पहिलो पटक चन्द्रमामा मान्छे पठाउन लागिएको हो ।अनलाइनमा अपिल गर्दै मेजावाले एक ‘विशेष’ महिलासँग आफ्नो अनुभव साट्न चाहेको बताएका छन् । 

भर्खरै मात्र २७ वर्षीय अभिनेत्री प्रेमिका एमी गोर्कीसँग छुटिट्एका मेजावाले ‘प्लान्ड म्याच–मेकिङ इभेन्ट’ नाम गरेको वेबसाइटमा नाम दर्ता गर्न महिलाहरुलाई आग्रह गरेका छन् । 

‘एक्लोपन र रित्तोपनाको अनुभवले मलाई बिस्तारै सताउन थालेको छ । म एउटा कुराको बारेमा सोचिरहेको छुः मलाई निरन्तर माया गरिरहने महिला’, मेजावाले वेबसाइटमा लेखेका छन् । 

‘म जीवनसाथी भेट्टाउन चाहन्छु’, मेजवाले भने, ‘म मेरो भविष्यको जीवनसाथीसँग बाहिरी अन्तरिक्षमा हाम्रो प्रेम र विश्व शान्तिको बारेमा चिच्याउन चाहन्छु ।’

वेबसाइटमा तीन महिना लामो आवेदनको प्रक्रियाको लागि शर्तहरुको एक सूची र एक अनुसूची छ । ‘एक डेटिङ प्रोफाइल शैलीमा लेखिएको, आवेदकको उमेर २० वर्षभन्दा माथि, सधैँ सकारात्मक र अन्तरिक्षमा जाने रुचि हुनुपर्ने’, शर्तमा लेखिएको छ । 

आवेदनका लागि अन्तिम समयसीमा आउँदो जनवरी १७ तोकिएको छ र मेजवाले जीवनसाथीको बारेमा मार्चको अन्तिममा निर्णय लिने बताइएको छ । 

यो महिनाको सुरुवातमा पनि मेजवाले १०० मिलियन येन आफ्नो ट्वीट गर्नेमध्ये बिना शर्त छानिएका सय जनालाई बाँड्ने बताएका थिए । ‘भाग लिनको लागि तपाईँले यो ट्वीट र रिट्वीटको पालना गर्नु पर्नेछ’, उनले भनेका थिए । 

जापानी अनलाइन कपडाको 'रिटेलर' जोजो इन्कका संस्थापक मेजवाले फेसनको दुनियाँमा आफ्नो भाग्य बनाएका हुन् । उनीसँग तीन बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति भएको अनुमान गरिएको छ । जसको धेरै हिस्सा उनी कला (चित्र) मा खर्च गर्छन् । 

साथै मेजवाले आफ्नो अन्तरिक्ष भ्रमणका क्रममा चित्रकारहरुको समूह पनि लैजाने बताएका छन् ।   

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया