मानव अधिकार हनन् हुनेगरी कुनै पनि विधेयक ल्याइएकाे छैन : मन्त्री ज्ञवाली

 पुस २८, २०७६ सोमबार १६:५२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन् हुनेगरी कुनै पनि विधेयक नल्याएको बताउनुभएको छ ।

संसदमा पेस भएको सूचना प्रविधि सम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको बताउँदै मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसाय सरकारको नभएको बताउनुभएको हो ।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकार हनन् गर्ने अधिकार संविधानले पनि कसैलाई नदिएको बताउनुभयो । उहाँले स्वतन्त्र छु भन्दैमा अरु कसैको आँखा घोच्ने गरी हात फैलाउने किसिमले मानव अधिकारको व्याख्या गर्न नहुने बताउनुभयो ।

उहाँले सरकार देशभित्र संविधानले निर्दिष्ट गरेका मानव अधिकारका विषयलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रुपमासमेत विस्तार गर्ने रचनात्मक भूमिका खेल्न तत्पर रहेको बताउनुभयो ।

उहाँले कसैलाई देखाउन तथा सन्तुष्ट पार्नका लागि मात्र मानव अधिकारको कुरा गर्न नहुने बताउनुभयो । मानव अधिकार, शान्ति र विकासलाई एकसाथ लैजान नसके मानव अधिकार सुनिश्चित हुन नसक्ने ज्ञवालीकाे ठम्याइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया