ए डिभिजन लिग : च्यासल र एपीएफ गोलरहित बराबरीमा रोकिए

 पुस २८, २०७६ सोमबार १८:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी विजयी हुँदा च्यासल र एपीएफ बराबरीमा रोकिएका छन् ।

लिग अन्तर्गत छैटौं चरणको खेलमा एनआरटीले विभागीय क्लब नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा ७६ औं मिनेटमा दर्शन गुरुङले गरेको गोल नै एनआरटीलाई स्पष्ट तीन अंक दिलाउन पर्‍याप्त बन्यो ।

यो एनआरटीको जारी लिगमा तेस्रो जीत पनि हो । खेलको ३७ औं मिनेटमा पुलिसका सुमन लामाले डिबक्स भित्रबाट प्रहार गरेकाे बल एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाएका थिए ।

४८ औं मिनेटमा पुलिसका मानबहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गर्दै सम्भावित खतरा टारेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७६ औं मिनेटमा दर्शनले गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले जोगाए । दोस्रो हाफको इन्ज्युरी समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट गरेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्नबाट चुक्यो ।

जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको भने यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।

सोमबार नै भएको अर्को खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबले एक एक अंक लिएका छन् । सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाएका हुन् ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि च्यासल ६ अंकसहित १० औं तथा एपीएफ ५ अंकसहित ११ औं स्थानमा यथावत रहेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया