ट्राफिकको लुकेको आँखा : ‘सीसीटीभी क्यामरा’

 पुस २९, २०७६ मंगलबार ११:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईँले सडकमा ट्राफिक छैन भनेर कहिलेकाँही ट्राफिक नियम उल्लङ्घन गर्नु भएको छ ? ट्राफिकले देखेको छैन भनेर सडक अनुशासन मिच्नु त भएको छैन ? 'ट्राफिकको आँखा छलेर आएँ, गल्तीको सजाय पाइएन' भनेर ढुक्क हुनुहुन्छ भने तपाईँले गल्ती गर्दै हुनुहुन्छ । 

किनकि ट्राफिकको लुकेको आँखाले तपाईँलाई हेरिरहेको हुन्छ, त्यो आँखा हो ‘सीसीटीभी क्यामरा’ । अब तपाईँलाई सडकमा ट्राफिक प्रहरीले देखे मात्रै कारबाहीमा पर्नुहुन्छ भन्ने छैन । ट्राफिक प्रहरी नभएको ठाउँमा पनि तपाईँलाई ट्राफिकले ‘सीसीटीभी क्यामरा’ हेरेर केही समयपछि फोनमार्फत नियम उल्लङ्घनबारे जानकारी दिन्छ  र कारबाही गर्न सक्छ । 

कसरी हुन्छ कारबाही ?

सीसीटीभी क्यामराबाट ट्राफिक प्रहरीले गाडी, चालकको चलाउने तरिकालगायतका गतिविधिको निगरानी गरिरहेको हुन्छ । ट्राफिक प्रहरीका प्रवत्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले सात सय ४१ वटा क्यामराले सडकको गतिविधिको निरीक्षण गरिने जानकारी दिनुभयो  । 

महानगरीय ट्राफिक महाशाखाको कन्ट्रोल रुमबाट ट्राफिक प्रहरीले चालकले ट्राफिक नियम, सडक अनुशासन मानेकाे या नमानेको ‘सीसीटीभी क्यामरा’ मा हेरिरहेको हुन्छ । नियम उल्लङ्घन गर्ने चालकलाई पहिचान गरेपछि ट्राफिकको सञ्चारमाध्यमबाट चालकको सम्पूर्ण जानकारी फिल्डमा रहेको ट्राफिकलाई दिने गरिन्छ । फिल्डमा रहेको ट्राफिकले चालकलाई कारबाहीको दायरमा ल्याउने गर्छ । अहिले सडकमा एक हजार तीन सय ६७ ट्राफिक प्रहरी खटिएका छन् ।

के गरे कारबाहीमा परिन्छ ?

सीसीटीभी क्यामराबाट ट्राफिक प्रहरीले लेन अनुशासन नमानेको, ढोका खुला राखेर हिँडेको, धेरै यात्रु चढाएको, तोकिएको ठाउँमा गाडी नरोकेको, जथाभाबी गाडी मोडेकोे, जेब्राक्रसमा गाडी रोकेको, सडकमा झैझगडा तथा होहल्ला गरेको जस्ता सडक अनुशासन नमान्ने र सडकमा लापर्वाही गर्ने चालकलाई कारबाही गर्छ ।

यसका साथै सीसीटीभी क्यामराबाट गाडी दुर्घटनाको जानकारी, हिट एण्ड रन जस्तो कुराको पनि निगरानी र कारबाही हुन्छ । 

ट्राफिक प्रहरीका प्रवत्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार सडकमा राखिएका सीसीटीभी क्यामराको मद्दतले घटेका घटना र अपराधको अनुसन्धान गर्नको लागि पनि सहयोग पुगिरहेको छ ।

कारबाहीकाे प्रक्रिया 

कुनै पनि चालकले ट्राफिक नियम उल्लङ्घन गरेको छ भने सडकमा रहेको सीसीटीभी क्यामराले त्यसलाई खिच्छ । सीसीटीभी क्यामराले खिचेका दृश्य निगरानी गरिरहेको ट्राफिक प्रहरीले हेरेर चालकले गरेको गल्ती, गाडी नम्बर, गाडी वा मोटरसाइकलको प्रकार, त्यसको रङ्ग, जाँदै गरेको दिशा जस्ता जानकारी टिप्दछन् ।

त्यसपछि त्याे जानकारी कन्ट्रोल रुममा हुने ट्राफिकले गाडी वा मोटरसाइकल अघि बढिरहेको चोकमा हुने प्रहरीलाई दिन्छन् । जानकारी पाएका ट्राफिक चनाखो भइ बसेर चालक र गाडीलाई समात्छन् र चालकलाई उसले गरेको गल्ती अनुसारको कारबाही हुन्छ । 

यदि कुनै चालक त्यो चोकमा रहेको ट्राफिकको पहुँचबाट पनि बचेमा वा छुटेमा ट्राफिक प्रहरीले त्याे गाडी वा मोटरसाइकलको जानकारी यातायात व्यवस्था कार्यालयबाट झिकाउँछ । त्यसमा भएको जानकारीअनुसार चालकलाई फोन गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखामा बोलाउँछ ।

चालकले गरेको गल्तीको सिसिटिभी फुटेज देखाएर आवश्यक कारबाही गर्छ । यसरी फोन गरेर १–२ महिनापछि पनि कारबाही गरिएको श्रेष्ठ बताउनु हुन्छ । 

त्यसैले सडकमा निस्किँदा ट्राफिक नियमको पालना गरी अनुशासित बनौँ, नत्र ट्राफिकको लुकेको आँखाले देख्न सक्छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया