लाभग्राहीले अनुदान लिन सम्झौता गर्ने समयसीमा सकिँदै, अब के होला ?

 पुस २९, २०७६ मंगलबार १२:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूकम्प पीडित लाभग्राहीले सरकारले दिने अनुदान लिन सम्झौता गर्ने समयसीमा मङ्गलबार सकिँदैछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म पनि अनुदानको सम्झौता नगरेका र पहिलो किस्ता ५० हजार रुपैयाँ नलिएका लाभग्राहीलाई पालिकाको सिफारिसमा पुस मसान्तसम्म सम्झौता गर्ने समय दिएको थियो ।

प्राधिकरणका अनुसार आठ लाख २८ हजार लाभग्राहीमध्ये सात लाख ७८ हजारसँग सम्झौता भएको छ । झण्डै ५० हजार लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ‘झण्डै आधा लाख भूकम्प पीडित अनुदान सूचीबाट हट्न सक्ने देखिएको छ, ‘प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भन्नुभयो, ‘पछिल्लो तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।’

एकीकृत बस्ती, जोखिम वर्ग र क्षेत्र, भूमिहिन तथा प्रबलीकरणका लाभग्राहीले पहिलो किस्ता माघ मसान्त, दोस्रो वैशाख र तेस्रो किस्ता असार मसान्तसम्ममा लिइसक्नु पर्नेछ ।

यस्तै गएको कात्तिक मसान्तसम्म दोस्रो किस्ता नलिएका लाभग्राहीले पालिकाको सिफारिसमा माघ मसान्तसम्म दोस्रो किस्ताको रकम लिन सक्ने छन् । लाभग्राहीलाई तेस्रो किस्ता भने असार मसान्तसम्म लिइसक्न प्राधिकरणले अनुरोध गरेको छ ।

‘तोकिएको समयभित्र अनुदान नलिए अनुदान फिर्ता तथा सूचीबाट नै हटाउने हो, अब समय थप्न सकिँदैन’, प्राधिकरणका सहप्रवक्ता घिमिरेले भन्नु भयो, ‘यो नै अन्तिम हो ।’ सरकारले भूकम्प पीडितलाई ५० हजार, एक लाख ५० हजार र एक लाख गरी तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया