जनकपुर-जयनगर रेल दुई महिनाभित्र सञ्चालनमा आउँछ : यातायातमन्त्री नेम्वाङ

 पुस २९, २०७६ मंगलबार १८:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर-जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले जयनगर-जनकपुर ३५ किलोमिटर रेल सञ्चालनको काम तीव्र रुपमा अगाडि बढिरहेको बताउनु भएको हो । 

ट्रयाक र लिक निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको उहाँले बताउनुभयो । जी टु जी माध्यमबाट रेल खरिद गरिने छ ।  ‘मिति तोक्न सक्दिन तर चाँडै नेपालमा रेल सञ्चालन चलेको देखिन्छ । रेलको बाटो निर्माण भएको देखिन्छ’, उहाँले भन्नुभयो ।

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उहाँले बताउनुभयो । संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको काम भइरहेकाे र झण्डै ४७ किलोमिटर सडक पालिका र प्रदेश सरकारले हेर्ने उहाँले बताउनुभयो ।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले पालिकाभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व पालिका, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताउनुभयो । 

दुई प्रदेश जोडिएको हकमा समग्र यातायात व्यवस्थापन सम्बन्धित मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्नेगरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी तथा गृहमन्त्रालयसँग पनि छलफल भएर योजनाहरु बनाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । समितिमा सांसद दिनानाथ शर्माले पालिकाका जनप्रतिनिधिहरुले जथाभावी डोजर किनेर सडक निर्माण गरी गाडी गुडाउने गरेको अवस्थालाई न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । 

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ/छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्नेगरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिनबाट बच्ने उहाँको भनाइ थियो ।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन, सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागू गर्ने/गराउने सम्बन्धित दिइएको निर्देशनको पालना भए नभएको विषयमा छलफल भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया