२०७७ सालमा विवाहको लागि जम्मा १८ दिन, माघ र फागुनमा लगन जुरेन !

 माघ १, २०७६ बुधबार १३:०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माघ लाग्यो । विवाहको लागि साइत खोज्नेहरुका लागि अब यो वर्ष २० दिन बाँकी छ । माघ २, ४, १५, १६, १७, २१, २६, २७ र २९ तथा फागुन ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको लागि साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

अबको दुई महिनामा २० दिन लगनको साइत भए पनि अर्को वर्ष अर्थात २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो । आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४÷४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ । 

वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको ढुंगेलले बताउनुभयो । असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन नभएको उहाँको भनाई छ । 
मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास छ । 

मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।

यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनुभयो । यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार र लक्ष्मीपूजा, ३० गते गोबर्द्धन तथा म्हपूजा र मंसिर १ गते भाइटीका परेको छ । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया