नेपाल र भारतका प्रधानमन्त्रीद्वारा विराटनगरको एकीकृत जाँच भन्सार विन्दुकाे संयुक्त उद्घाटन

 माघ ७, २०७६ मंगलबार १५:१८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मोरङको विराटनगर महानगरपालिका बुधनगरमा बनेको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । 

मंगलबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आईसीपी उद्घाटन गर्नुभएको हो । 

भारतको सहयोगमा निर्माण भएको आईसीपी उद्घाटनसँगै यसको स्वामीत्व नेपालसँग आएको छ । आईसीपी सुरु भएसँगै निर्यात लागत घट्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनुभयो । 

पार्किङ स्थल, जाँच पोष्टसहितका सेवाहरु एकै ठाउँबाट उपलब्ध हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने उहाँको भनाइ छ । मन्त्री भट्टले सुख्खा बन्दरगाहको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न ११ गते अध्ययन टोली त्यसतर्फ जाने बताउनुभयो । 

हेटौँडादेखि वीरगञ्जसम्मा सुख्खा बन्दरगाहको अध्ययन गर्ने र भैरहवा औद्योगिक क्षेत्रको पनि अध्ययन गरी तत्काल देखिएका समस्याहरु निराकरण गरिने उहाँले बताउनुभयो । मन्त्री भट्टले सुनौली, नेपालगञ्ज लगायतका ठाउँमा पनि आईसीपी निर्माणका लागि योजना अगाडी सारिएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आईसीपी निर्माणपछि खर्च व्यवस्थान हुने र सामानको सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । कम मूल्यमै आवश्यक वस्तुहरु आयात निर्यात गर्न सकिने धारणा राख्दै श्रेष्ठले नेपालगञ्ज लगायतका क्षेत्रमा पनि छिटो निर्माण भए सबैतिर सुलभ मूल्यमा मालसामान पुग्ने बताउनुभयो ।

आईसीपीबाट नेपाल र भारत दुबै देशले फाइदा लिनसक्ने बताउँदै उहाँले नीति क्षेत्रका तर्फबाट धन्यवादसमेत ज्ञापन गर्नुभयो । सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने विभिन्न क्षेत्रहरुमा आईसीपी निर्माणको सहमति भएको थियो । त्यस सहमतिअनुसार वीरगञ्जमा दुई वर्षअघि नै आईसीपी निर्माण भइसकेको छ । 

मंगलबारबाट विराटनगरमा निर्माण भएको आईसीपी सञ्चालनमा आएको छ । अब भैरहवा र नेपालगञ्ज नाकामा निर्माण गर्न बाँकी रहेको छ । नुवाकोट र गोरखामा निर्माण भइरहेका ५० हजार निजी आवासको काम छिट्टै सकिने पनि भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको छ । 

भूकम्पपछिको पुनर्निमाणमा ५० हजार निजी आवास निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने योजना अनुसार अहिलेसम्म ४५ घर निर्माण भएका छन् । प्रधानमन्त्री ओलीसँग मंगलबार भिडियो कन्फ्रेन्समा भएको वार्ताका क्रममा ती घरहरु छिट्टै नेपाललाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया