काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - निजी होटलको लागि घडेरी खन्दा मर्स्याङ्दी-स्यूचाटार १३२ केभी प्रसारण लाइनको २०५ नम्बर टावर पहिरोको जोखिममा परेर ढल्ने अवस्थामा पुगेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ को कुरिनटारमा रहेको मनकामना केबलकार जाने गेट नजिकै रहेको जग्गा पर्शुराम घिमिरेले खन्दा टावर नै ढल्ने अवस्थामा पुगेको हो ।
जग्गाधनी घिमिरेले पृथ्वी राजमार्गसँग जोडिएको त्यस ठाउँमा होटल खोल्न भिरालो जग्गालाई खन्दा पहिरो गइ त्यहाँभन्दा माथि रहेको टावरको जगमा असर परि टावर नै ढल्ने जोखिमयुक्त अवस्था देखिएको बताउनुभयाे ।
मर्स्याङ्दी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको लगभग एक सय मेगावाट विद्युत् मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाण्डाै आइरहेको छ ।
टावर ढलेमा काठमाण्डाै उपत्यकामा एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउनेछ भने अर्कोतर्फ जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङबाट आइतबार काठमाण्डौ फर्कने क्रममा टावरको निरीक्षण गरी टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न आग्रह गर्नुभयो ।
‘भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ । त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन । पानी पर्नासाथ पहिरो जान सुरु भई टावर नै ढल्न सक्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले जग्गाधनी घिमिरेलाई भन्नुभयो ।
जथाभावी खनिएकाले प्रोटेक्सनवाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिँदैन, टावर ढलेर यसबाट उत्पन्न हुने हानी नोक्सानीको जिम्मेवारी तपाईँले नै लिनु पर्नेछ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नु पर्नेछ ।’
जवाफमा घिमिरेले यस्तो अवस्था आउला भनेर नसोचेको र होटल खोल्न बैकबाट ऋंण लिएकाले आफू डुब्ने अवस्थामा पुगी समस्यामा फसेको बताउनुभयो ।
प्राधिकरणले गत वर्षको पुसमा घिमिरेलाई पत्राचार गर्दे तलतिर रहेको जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असर पर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो । तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो ।
प्राधिकरणले मंगलबार पुनः पत्र पठाउँदै गत वर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।
‘लगभग एक सय मेगावाट पावर आपूर्ति भई रहेको मुलुकको राजधानी केन्द्रित उक्त प्रसारण लाइनमा अवरोध उत्पन्न भएमा त्यसले ठूलो क्षति निम्त्याउने सक्ने र तपाईंबाट सिर्जित अवस्थाको जिम्मेवार तपाईं स्वयं हुने व्यहोरा पुनः स्मरण गराउँदै यथाशीघ्र सुरक्षात्मक कार्य सम्पन्न गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले जग्गाधनी घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।