विदेशी नागरिकलाई सरकारकाे आग्रह : 'रुघाखाेकी र श्वासप्रश्वासमा समस्या देखिए तत्काल अस्पताल जानुस्'

 माघ १०, २०७६ शुक्रबार १२:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस प्रभावित देशबाट आएका नागरिकलाई रुघाखोकीसँगै धेरै ज्वरो आए र सास फेर्न समस्या भए तत्काल अस्पताल जान सरकारले आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना निकालेर कोरोना भाइरस प्रभावित देशबाट आएका नागरिकलाई दुई हप्ताभित्र रुघाखोकी लागे, सय डिग्रीभन्दा धेरै ज्वरो आए, घाँटी र टाउको दुखे, सास फेर्न समस्या भए तत्काल उपचार गराउन आग्रह गरेको हो ।

चीनमा प्रकोपकै रुपमा फैलिरहेको कोरोना भाइरसको लक्षण सामान्य रुघाखोकीबाट नै सुरु हुने भएकाले सतर्क हुन तर नआत्तिन पनि सरकारले आग्रह गरेको छ । कोरोना भाइरसका कारण हुने रोगको अहिलेसम्म कुनै उपचार नभएकाले सुरुमै ख्याल गर्न सूचनामा भनिएको छ ।

यो भाइरस व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले रुघाखोकी तथा श्वासप्रस्वासमा समस्या भएका बिरामीको नजिक नजाने, नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधैँ सम्पर्क नगर्ने तथा अण्डा र मासु राम्ररी पकाएर मात्र खान र फ्लुको जस्तो लक्षण देखिए अस्पताल जान महाशाखाले सुझाव दिएको छ ।

सामान्य रुघाखोकी नै कोरोना भाइरसको लक्षण भएकाले सतर्कता अपनाउनु पर्ने तर मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्नु स्वभाविक भएकाले नआत्तिन पनि महाशाखाले आग्रह गरेको छ । 

यसैबीच उपयुक्त प्रविधिको अभावमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति नेपाल भित्रने जोखिम बढेको छ । सरकारले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपाल भित्रने यात्रुको पनि जाँच गर्न थालेको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने क्षमता नभएकाले भाइरस सङ्क्रमित व्यक्ति नेपाल भित्रने जोखिम बढेको हो ।

अहिले विमानस्थलमा 'थर्मल स्क्यानर' ले मानिसको भिडमा शरीरको तापक्रम जाँच्ने र सय डिग्रीभन्दा माथि ज्वरो आएका मानिस पत्ता लगाउने र यसकै आधारमा सोधपुछ गर्ने काम भइरहेको विमानस्थल सञ्चालन निर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुराकानी गर्दा शङ्का लागेका व्यक्तिलाई मात्र अस्पताल पठाउने गरिएको छ । यसले सङ्क्रमित व्यक्ति नेपाल भित्रने जोखिम बढेको हो । यस्तै रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको शनिबारदेखि स्वास्थ्य परीक्षण गरिने भनिए पनि प्रविधिको अभावमा के गर्ने भन्ने अन्याेल देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया