अग्नि सापकोटाविरुद्ध मुद्धा दायर गर्ने राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

 माघ १०, २०७६ शुक्रबार १४:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।  

आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा प्याकुरेलले राजीनामा दिनुभएकाे बुझिएकाे छ । उहाँले राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउनुभएको हो । 

नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उहाँकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६९ मंसिर ७ गते सर्वोच्चमा मुद्धा दायर गर्नुभएको थियो ।  

द्वन्द्वका बेला २०६२ मंसिर १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।

मानव अधिकार क्षेत्रमा क्रियाशील प्याकुरेलले हत्या आरोप लागेका सापकोटाविरुद्धको मुद्दा अघि बढाउन भन्दै २०७२ चैत २६ मा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।  

मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते प्याकुरेल राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त हुनुभएको थियो । यसअघि राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा पनि प्याकुरेल दुई वर्ष विज्ञ सल्लाहकार हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया