आरबीबी एनभीए क्लब च्याम्पियनशिप महिला तर्फको उपाधि एपीएफ क्लबलाई

 माघ १०, २०७६ शुक्रबार १६:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा जारी पाँचौँ आरबीबी एनभीए क्लब च्याम्पियनशिपको महिलातर्फको उपाधि एपीएफ क्लबले जितेको छ । 

दशरथ रंगशालाको कर्भडहलमा शुक्रबार भएको फाइनलमा प्रतिद्वन्द्वी न्यु डायमण्ड क्लबलाई तीन एकको सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । गएकाे महिनामा पनि यी दुई टिमबीच न्यु डायमण्ड कपमा प्रतिस्पर्धा हुँदा एपीएफले जितेकाे थियो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

एपीएफले उपाधि जित्दा खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा सुरुदेखि नै प्रतिस्पर्धात्मक भए पनि अन्तिममा एपीएफले कमब्याक गरेको थियो । २ अंकले पछि परेको एपीएफले अन्त्यमा न्यु डायमण्डलाई २१ मा रोक्दै २५-२१ ले जितेको थियो ।

तेस्रो तथा निर्णायक सेट पनि निकै प्रतिस्पर्धात्मक बनेको थियो । न्यु डायमण्डले १२ अंक ल्याउँदा एपीएफले १० अंक जोडेको थियो । न्यु डायमण्डले १९ अंक जोड्दा १६ अंक जोडेको एपीएफले लगातार अंक लिँदै बराबरी गरेको थियो । 

तर न्यु डायमण्ड खेलमा फर्कँदै फेरि तीन अंकको अग्रता लिन सफल भएको थियो । २२-२० ले अगाडि भएका बेला न्यु डायमण्ड तथा नेपालकी स्टार खेलाडी प्रतिभा मालि घाइते हुँदै कोर्ट बाहिर आएकी थिइन् । 

उनको अभाव डायमण्डलाई खड्किएको थियो । तर उक्त सेट प्रतिस्पर्धात्मकरुपमा न्यु डायमण्डले २५-२३ ले जितेको थियो । तर चौथो सेटमा प्रतिभा खेलमा नफर्किए पछि शुरु देखिनै एपीएफले अग्रता बनाएको थियो । अन्तमा २५-१८ ले जित्दै उपाधि जित्न सफल भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया