आजदेखि नेपालमै काेराेना भाइरसकाे परीक्षण

 माघ १३, २०७६ सोमबार ९:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  साेमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा साेमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले साेमबारदेखि परीक्षण गर्ने तयारी छ । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने पनि उहाँले बताउनु भयो ।

यसैबीच चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । चीनबाट आएका व्यक्तिमा सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना सङ्क्रमण भएका पर्यटक आए त्यहीँबाट चीन फर्काइदिने तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको छ ।

नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसकाे पुष्टि भएको र अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शङ्का गरिएको दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

अहिले शङ्का गरिएका दुई जनालाई डाक्टरको निगरानीमा राखिएको छ । कोरोना भाइरसबारे सचेत हुन तर नआत्तिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया