वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन अभिमुखीकरण तालिम

 माघ २१, २०७६ मंगलबार १७:५५:२५

रामकुमार थापा/धादिङ

धादिङको नीलकण्ठ नगरपालिकाको वडानम्बर–३, इजरामा मंगलबार वैदेशिक रोजगारी सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन ‌‍(सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि समूहस्तरमै गएर जानकारी गराउने उद्देश्यले सञ्चालित यस कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगारीको कारण उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सञ्चालन, वित्तीय साक्षरता, मनोसामाजिक समस्या न्यूनीकरण, न्याय र पैरवीमा काम गर्दै आएको छ ।

कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका लेखा अधिकृत सम्झना भण्डारीले वैदेशिक रोजगारी सम्बन्धी कुनै समस्या भए नगरपालिकालाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जानु नै परे सही सूचना र सीप लिएर मात्र जाउँ भन्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) परियोजनासँग सहकार्य गर्दै आईरहेको छ ।

नगरपालिकाले वैदेशिक रोजगारीमा जानेको लागि निःशुल्क सीप सञ्चालन गर्दै आएको छ । यस्तै वैदेशिक रोजगारीको क्रममा पीडित व्यक्तिको उद्धार तथा न्यायको लागि आप्रवासी श्रोत केन्द्र सञ्चालन गरिरहेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया