योगमाया स्रष्टा सम्मान नेपाल र कार्कीलाई

 साउन ७, २०७५ सोमबार २०:३३:५५ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल स्रष्टा समाजले योगमाया न्यौपानेको स्मृतिमा स्थापित पुरस्कारबाट दुई स्रष्टालाई पुरस्कृत तथा एक जनालाई सम्मान गरेको छ । 

नेपाली साहित्य, इतिहास र संस्कृतिको प्रवद्र्धन र विकासमा योगदान पुर्‍याउने इतिहासविद् ज्ञानमणि नेपाललाई ‘योगमाया अभियन्ता राष्ट्रिय सम्मान– २०७५’ र साहित्यकार नीलम कार्की ‘निहारिका’ लाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०७४’ बाट पुरस्कृत गरिएको हो । 

पुरस्कृतमध्ये नेपाललाई  २० हजार १११ र निहारिकालाई  २५ हजार १११ रुपैयाँ नगदसहित प्रशंसापत्र रहेको छ । यस्तै सामाजिक अभियन्ता हिरण्यप्रसाद भण्डारीलाई ‘योगमाया विशेष सम्मान’ प्रदान गरिएको छ । 

विक्रम संवत १९८९ मा सिक्तेल भोजपुरमा जन्मनुभएका नेपालले संस्कृत विषयमा मध्यमा र नेपालको इतिहासमा विशेष दक्षता हासिल गर्नुभएको छ । 

यस्तै विक्रम संवत २०३१ मा गोठादी पाल्पामा जन्मनुभएकी निहारिकाले साहित्यका क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ । भण्डारीले योगमायाको सान्निध्य पाई उहाँसँगै भोजपुरको मझुवाबेंसीमा साधना गर्नुका साथै विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्छ । 

आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार वितरण गर्दै योगमायाले महिला सशक्तीकरणका क्षेत्रमा गर्नुभएको योगदानको प्रंशसा गर्नुभयो । 

तत्कालीन समाजमा निरंकुशताविरुद्धको संघर्ष गरेर समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकाले योगमायालाई राज्यले सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

योगमाया सामाजिक आन्दोलन अभियानका संयोजक जयन्ती राईले अहिले पनि समाजमा जातीय, क्षेत्रीय र सांस्कृतिक विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 

समाजका अध्यक्ष पवन आलोकले योगमायाको अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले समाजले स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ भन्नुभयो । 

पुरस्कृतद्वय नेपाल र निहारिकाले सामाजिक कुप्रथाविरुद्ध महिला सशक्तीकरणमा योगमायाको योगदानको व्याख्या गर्नुभएको थियो । न्यौपाने बन्धु सेवा समाजका अध्यक्ष दयाकृष्ण न्यौपानेले योगमायाका विषयमा थप खोज तथा अनुसन्धान गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

विसं १९२५ मा भोजपुरको नेपालेडाँड–सिम्लेमा जन्मनुभएकी योगमायाले सामाजिक कुरीति र बेथितिका विरुद्ध विद्रोह गर्नुभएको थियो । 

उहाँले विसं १९९८ असार २२ गते तत्कालीन निरंकुश राणा शासनका विरुद्ध आफ्ना ६८ अनुयायी शिष्यसहित अरुण नदीमा समाधि लिनुभएको थियो ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया