अख्तियारलाई बालुवाटारमा राखेर भातृ संगठन जस्तो बनाए हुन्छ : तरुण दल अध्यक्ष बस्नेत

 माघ २४, २०७६ शुक्रबार १७:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । 

विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गर्नुभयो ।

कानुन धनी/गरिब सबैलाई बराबर हुने भए पनि त्यसो हुन नसकेको भन्दै उहाँले ‘अख्तियारलाई बालुवाटारमा राखेर भातृ संगठन जस्तो बनाए हुन्छ’, भन्नुभयो । आफुहरु विजय कुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषदमा निर्णय गर्ने कसले ? माधव नेपाललाई कारबाही गर्नुपर्‍यो । निर्णय गर्ने माधव नेपाल कारबाही भोग्ने विजय गच्छदार? मुख्य सचिवलाई कारबाही किन नहुने ? जग्गाको लालप‍ुर्जा लिने विष्णु पौडेल र उनका छोरालाई कारबाही नहुने ?’

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मूल्यमा दिने निर्णय गर्दै गएको बताउनुभयो । अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिनुहुँदै उहाँले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधीले बगाउने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार भनेको संवैधानिक निकाय हो । यदि संवैधानिक निकायले आफ्नो संवैधानिक हैसियता पूरा गर्दैन भने, अख्तियार बालुवाटारको भातृ संस्थाका रुपमा अगाडि बढ्न खोज्यो भने, अब आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन, अख्तियारलाई पनि बगाउँछ ।’

प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल, विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ कि प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए ।

आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ । नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया