‘एक महिना अघि अपहरणमा परेका बाराका एक बालकको शव फेला’

 साउन ८, २०७५ मंगलबार १४:१०:१७ | रासस
unn.prixa.net

पर्सा – झण्डै डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ । 

भारत बिहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएको सोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ । 

गएको जेठ २२ गते अपहरणमा परेका अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको पुष्टि बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले बताउनुभयो । 

शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको बारा प्रहरीले जनाएको छ । 

वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्रउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । 

अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया शहरमा १५ लाख भारतीय रुपैयाँ फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डीएनए परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ । 

यता जीतपुरवासीले प्रहरीको फितलो अनुसन्धानका कारण बालक अंकित बाँच्न नसकेको आरोप लगाएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले  भन्नुभयो, ‘अपहरण काण्डमा प्रहरीको भूमिका सन्तोषजनक नदेखिएको र पर्सा तथा बारा प्रहरीबीच समन्वयको अभावको कारण यस्तो घटना भएको हो ।’
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया