'एक करोड रुपैयाँ आउँछ, भाग्य चम्कन्छ' भन्दै किशोरीलाई चितवन लैजान खोज्ने दुई जना पक्राउ

 माघ २७, २०७६ सोमबार १२:३९:१४ | किरण लोहनी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गोरखा – एक करोड रुपैयाँ आन्दानी हुन्छ भन्दै एक किशोरीलाई चितवन लैजान खोज्ने दुई जना पक्राउ परेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका ७ काे तल्लो गोहोरेका ७१ वर्षीय भीमप्रसाद ढकाल र ३९ वर्षीय रामबाबु दूतराज (विक) लाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले त्यही ठाउँमा बस्ने १७ वर्षीया किशोरीलाई 'एक करोड रुपैयाँ कमाइ हुन्छ' भन्दै माघ २४ गते शुक्रबार चितवन लैजान खोजेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताउनुभयो ।

‘हामीलाई साढे ५ फिट उचाइ भएको मान्छे चाहिएको हो भन्दै उनीहरुले माघ २३ गते बालिकाको शरीर नापेछन्, हामीले खोजे जस्तो मान्छे तिमी नै हो भनेर भिडियो पनि खिचेका रहेछन्’ खतिवडाले भन्नुभयो, ‘चितवनसम्म जाऔँ, एक करोड रुपैयाँ आउँछ, भाग्य चम्कन्छ, आधा–आधा पैसा बाडौँला भनेर बालिकालाई फकाएका रहेछन् ।’

गएकाे २४ गते चितवन जान घरबाट हिँडेकी किशोरीलाई उनीहरुको क्रियाकलापबारे शङ्का लागेपछि भागेर गएर आमालाई जानकारी गराएको र किशोरीका आफन्तमार्फत प्रहरीमा खबर आएको डीएसपी खतिवडाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार किशोरीले बस चढ्ने बेलासम्म पनि त्याे कुरा घरपरिवारलाई बताएकी थिइनन् । गाउँमै सिकर्मीको काम गर्ने ७१ वर्षीय भीमप्रसाद र ३९ वर्षीय रामबाबुलाई किशोरीकी आमाले दिएको जाहेरीका आधारमा माघ २४ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार मुद्दा चलाइएकाे खतिवडाले बताउनुभयो ।

उनीहरुले किशोरीलाई कहाँ र के उद्देश्यले लैजान खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया