चिसोमा बालबालिकाकाे खानेकुरा : यी कुराकाे ख्याल गरौँ

 माघ २९, २०७६ बुधबार १७:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

जाडो महिना बालबालिकाका लागि जोखिमपूर्ण मानिन्छ । मौसम परिवर्तनले गर्दा यो बेला विभिन्न किसिमका सङ्क्रमण हुन सक्छन् । जाडोमा रोगसँग लड्ने क्षमतामा कमी आउने भएकोले विशेषगरी बालबालिकामा सङ्क्रमणको समस्या बढी हुन्छ । बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन् । 

औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै सिकिस्त हुँदै जान्छन् । लामो समयसम्म खानेकुरामा ध्यान पुर्‍याउन नसक्दा शारीरिक र मानसिक रुपमा नराम्रो असर पर्न सक्छ । चिसो मौसममा न्यानो लुगाले मात्रै पुग्दैन । पोषिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ । 

बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । त्यसपछि बालबालिकालाई दूधले मात्रै नपुग्ने भएकाले दूधका साथै अरु खानेकुरा पनि खुवाउनुपर्छ  । बाहिरका अरु खानेकुराभन्दा पनि लिटो खुवाउनुपर्छ ।  

लिटो 

भटमास, गहुँ, चामल, मकै र बदामलगायतका खानेकुरा मिसाउनुपर्छ । त्यसमा अलिकति घ्यू पनि राख्नुपर्छ जसले हाम्रो शरीरलाई चाहिने बोसोको काम गर्छ ।  
भिटामिन ए, बी, ई, डी र के जस्ता तत्वसँगै बोसो छैन भने यी तत्वहरु सोस्न पाउँदैन र काम नगर्ने हुन सक्छ । जसले गर्दा कुपोषण हुन सक्छ । 

बच्चा ठूलो हुँदै जाँदा उसिनेको आलु र उसिनेको अण्डाको साना साना टुक्राका साथै दालको झोल र तरकारी पनि  खुवाउनुपर्छ । दिनमा आठ पटकसम्म खुवाउनु पर्छ ।  तर थोरै थोरै खुवाउनुपर्छ  ।   

जब बालबालिका दुई वर्षका हुन्छन्, त्यस बेलादेखि घरको भान्सामा जे जे पाक्छ ती सबै दिने गर्नुपर्छ । त्यसमा पनि चपाउने खानेकुरा धेरै दिनुपर्छ । बाहिर बजारको खाना दिनुहुँदैन ।

सखर

जाडो मौसममा सखर हरेक उमेर समूहका लागि एकदमै उपयोगी हुन्छ । सखरमा खनिज तत्व, लौह तत्व, जिन्क, इन्जाइम र एनर्जी पाइन्छ । यो मौसममा सखरको सेवनले शारीरिक कमजोरी र थकान मेटाउन मद्दत गर्छ ।

ताजा सागपात र तरकारी

मौसमअनुसारको तरकारीजस्तै काउली, ब्रोकाउली, तरुल, गान्टेमुला, सखरखण्ड, कुरिलो र कागतीका साथै विभिन्न किसिमका सागपातको सेवन गर्नुपर्छ ।

गाजरमा बिटा क्यारोटिन भएकोले बालबालिकालाई काँचो वा पकाएर जस्तो पनि दिन सकिन्छ । झोलिलो सुपले शरीरलाई न्यानो बनाउनुका साथै विभिन्न पोषक तत्व प्रदान गर्छ ।

ओखर, बदाम (नट्स) आलस, तिल

बदाम, ओखर, छोकडा, खुर्पानी अति नै स्वास्थवर्द्धक खानेकुरा हुन् । शारीरिक विकासको लागि, इन्सुलिनको मात्रा मिलाउन, मष्तिस्क बलियो बनाउन, मुटु स्वस्थ राख्न र स्मरण शक्ति बढाउनका साथै बालबालिकाको सम्पूर्ण विकासका लागि यी खानेकुरा धेरै नै उपयोगी हुन्छन् ।

माछा

जाडोयाममा माछाको प्रयोग गर्नुपर्छ । किनकि माछामा धेरै प्रोटिन पाइन्छ । यसमा ओमेगा थ्री, फ्याटी एसिड र भिटामिन डी पाइन्छ जसले मुटु रोगको साथै हाडजोर्नीलाई पनि बलियो बनाउने काम गर्छ । 

फलफूल 

जाडोयाममा फलफूलको सेवन गर्दा चिसो लाग्छ भन्ने धेरैको बुझाइ छ तर यो गलत हो । यो मौसममा फलफूलको प्रयोग झन् नियमित गर्नुपर्छ । यसमा भएको पोषक तत्व र भिटामिनले धेरै रोगबाट जोगाउने गर्छ । यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । बालबालिकाका लागि मौसमअनुसारको सबै फलफूल उपयुक्त हुन्छ ।

सुन्तला, केरा, नासपाती, मेवा, अनार, स्याउ, मौसम, अम्बा, आँपआदिको सेवन सधैँ गर्नुपर्छ । यी खानेकुरा बालबालिकाका साथै अरुले पनि नियमित खाँदा निरोगी बन्न सकिन्छ ।  

(विना न्यौपानेले जनस्वास्थ्यविद् डाक्टर अरुणा उप्रेतीसँग गरेको कुराकानीमा आधारित )

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया