दिल्ली विधानसभामा आम आदमीको जित : नेपालका वैकल्पिक शक्तिलाई सन्देश

 माघ २९, २०७६ बुधबार १७:५६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

आजको मितिमा भारतीय जनता पार्टी हाम्रो दक्षिण छिमेकी भारतको सबभन्दा ठूलो र शक्तिशाली पार्टी हो । दुई तिहाइ बहुमतका साथ भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रीय सरकार चलाइरहेको छ ।

यो मोदीको लगातार दोस्रो कार्यकाल हो । आधाभन्दा बढी प्रदेशमा भाजपाको एकलौटी वा गठबन्धन सरकार छ । अहिले भाजपालाई सयौं प्रभावशाली नेता, अपार साधनस्रोत, चुनावका लागि आक्रामक प्रचार संयन्त्र र मूलधारको ‘गोदी’ मिडियाको साथ छ । 

सन् २०१७ मा सम्पन्न स्थानीय तह चुनावमा दिल्ली नगर निगमका बहुमत सिट भाजपाले जितेको थियो । ८ महिनाअघि सम्पन्न लोकसभा चुनावमा समेत दिल्लीका जम्मै ७ वटा निर्वाचन क्षेत्र पनि भाजपाले नै हात पारेको थियो । यस्तो अनुकूल पृष्ठभूमिका बाबजुद भाजपाले दिल्ली विधानसभाको पछिल्लो चुनावमा जितेको सिटको संख्या दोहोरो अंकमा पुर्‍याउन सकेन ।

भोजपुरी संगीत र फिल्मबाट ‘हिट’ कलाकार एवं भाजपा दिल्ली प्रदेशका अध्यक्ष मनोज तिवारीले आफ्नो पार्टीले कम्तिमा ४८ सिट जित्ने दाबी गर्नुभएको थियो । तर मंगलबार सम्पन्न मतगणनामा मोदीको पार्टीले ८ सिटमै चित्त बुझाउनुपर्‍यो । 

बाघसँग ‘बिरालो’को भिडन्त

शनिबार सम्पन्न दिल्ली विधानसभाको चुनाव जतिजति नजिकिँदै गयो, गृहमन्त्री अमित शाह नेतृत्वको भाजपाको जम्बो प्रचार टोलीले प्रचारप्रसारलाई तीव्र र आक्रामक बनाउँदै लग्यो । मोदी मन्त्रिमण्डलका अधिकांश केन्द्रीय मन्त्री प्रचार अभियानमा खटाइए । गृहमन्त्री शाह आफैं पनि चोकचोकमा सानो सानो ‘नुक्कड’ सभा गर्न पुग्नुभयो । प्रधानमन्त्री मोदी पनि चुनावी सभाहरुलाई सम्बोधन गर्न पछि पर्नुभएन ।

दिल्लीबाट जितेका ७ सांसदसहित कम्तिमा २ सय जना भाजपाका सांसदलाई मतदाताका घरघर खटाइए । पार्टीका हजारौं कार्यकर्ता त छँदै थिए । दिल्लीका ८० प्रतिशतभन्दा बढी हिन्दु मतदातालाई आफूतिर ध्रुवीकृत गर्न भाजपाले जम्मु र कास्मिर प्रदेशको विशेष दर्जा समाप्त गरेको प्रसंगदेखि नयाँ नागरिकता कानुन र तीन तलाकजस्ता मुस्लिम विरोधी मुद्दा समेत चुनावको बेला उचाल्यो । 

नयाँ नागरिकता कानुनको विरोधमा दिल्लीको शाहीन बागमा महिनौंदेखि धर्नारत मुस्लिम महिलालाई सुटुक्क बिरयानी उपलब्ध  गराउँदै आएको भन्दै आमआदमी पार्टीका संयोजक एवं मुख्यमन्त्री अरविन्द केजरीवाललाई आतंकवादीको आरोप लगाउन पनि भाजपाका नेताहरु पछाडि परेनन् ।

त्यस्तै, मुख्यमन्त्री केजरीवाल हिन्दु धर्मविरोधी रहेको भन्दै उहाँविरुद्ध अनेक दुस्प्रचार र भ्रम फैलाउने काम मोदीको पार्टीले चुनावी अभियानभरि नै गरिरहयो । जसको प्रतिवादमा केजरीवालले हनुमान चालिसा पाठ मात्र गर्नुभएन । टेलिभिजन च्यानलहरुका साथ विभिन्न मन्दिर गएर पूजापाठ पनि गर्नुभयो । 

यसरी चुनावमा एकातिर दशकौं पुरानो भाजपा पार्टी र उसका हजारौं नेताकार्यकर्ता तथा अफवाह प्रचार संयन्त्र थिए भने अर्कोतिर मात्र आठ वर्ष आयु भएको आमआदमी पार्टी, उसका लोकप्रिय नेता केजरीवाल र केही सय नेताकार्यकर्ता खटिएका थिए । चुनावी अभियानका बेला दुई पार्टीका सभा, जुलुस, घरदैलो कार्यक्रम र अन्य तामझाम हेर्दा भाजपाको सामुन्ने आमआदमी पार्टी बिरालोजस्तै देखिन्थे । तैपनि आमआदमीले नै अत्यन्तै फराकिलो अन्तरका साथ दिल्ली चुनावमा बाजी मा¥यो । 

उग्रराष्ट्रवादमाथि स्थानीय मुद्दाको जित

भारतको वर्तमान सत्ता राजनीतिमा अति नै प्रभावशाली र शक्तिशाली रहेको भाजपाले दिल्ली चुनावको बेला अनेक हथकण्डा अपनायो । भाजपाका नेताहरुले मुख्यमन्त्री केजरीवाललाई बदनाम गर्नेदेखि आमआदमी पार्टीलाई हिन्दुधर्म विरोधी भएको आरोप समेत लगाए । आफ्नो पाँच वर्षे कार्यकालमा मुख्यमन्त्री केजरीवालले आफ्नो वाचाअनुरुप नागरिकका कुनै पनि आकांक्षा पूरा गर्न सक्नुभएन भन्ने आसयका सन्देश फैलाउन अनेक भ्रामक भिडियो र ह्वासअप मेसेजहरु भाइरल गरियो ।

तर केजरीवाल र उहाँका प्रचार अभियानीहरुले संयम र लगनशीलताका साथ आममतदातालाई पाँच वर्षमा आफ्नो सरकारले गरेका विकासका कामबारे नागरिकलाई अवगत गराए । भारत–पाकिस्तान तथा हिन्दुमुस्लिमजस्ता विषयबाट पर रहदै केजरीवालले विगत पाँच वर्षमा स्वास्थ्य, शिक्षा, खानेपानी र अन्य आधारभूत सरोकारका क्षेत्रमा गरेका कामको आधारमा भोट दिन मुख्यमन्त्री केजरीवालले मतदातालाई आग्रह गर्नुभयो । 

सन् २०१५ को दिल्ली विधानसभा चुनावको बेला केजरीवालले मतदातासमक्ष गर्नुभएका लगभग सबै वाचा पूरा गर्नुभयो । दिल्लीका नागरिकलाई वाचाअनुरुप मासिक २ सय युनिटसम्मको विद्युत् र २ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउनुभयो । दिल्लीका प्रत्येक टोलमा निःशुल्क उपचार र औषधि उपलब्ध गराउने ‘मोहल्ला क्लिनिक’ र सरकारी विद्यालयमा उल्लेखनीय सुधार गर्नुभयो । यसले दिल्लीका नागरिकले आफ्ना बालबच्चालाई अब निजी विद्यालयमा नपठाए नि हुन्ने धारणा निर्माण हुन थालेको छ । राजधानी दिल्लीको वायु प्रदुषण कम गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नुका साथै अनेकौं लोककल्याणकारी काम गर्नुभयो । जसको बलमा केजरीवालले धार्मिक कट्टरता र उग्रराष्ट्रवादको राजनीति गर्ने शक्तिशाली भाजपालाई परास्त गर्न सफल हुनुभयो ।      

नेपालका पार्टीले सिक्ने पाठ

दक्षिण एसियामा एउटा मूल धारको पार्टीको विकल्प मूल धारको अर्को खराब पार्टी हुने गरेको छ । जुन भारतीय राजनीतिको पनि नियति बनेको छ । गत मे महिनामा सम्पन्न लोकसभा चुनावमा भाजपाको लगातार दोस्रो सफलतापछि राजस्थान, मध्यप्रदेश र छत्तीसगढजस्ता राज्यको विधानसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले विजय हासिल गरेपछि भाजपाको विकल्प फेरि कांग्रेस नै हुने हो कि भन्ने चिन्ता देखिएको थियो । तर दिल्लीमा आमआदमी पार्टीको पछिल्लो चुनावी सफलताले भारतमा यो पार्टी निकट भविष्यमा वैकल्पिक राजनीतिक पार्टीको रुपमा उदाउन सकिने चर्चा हुन थालेको छ । 

भारतमाजस्तै नेपालमा पनि कांग्रेसको विकल्प कम्युनिस्ट र कम्युनिस्टको विकल्प कांग्रेस हुने नियति सधैंभरि दोहोरिने हो कि भन्ने सम्भावना यथावत् छ । यस्तो अवस्थामा वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने चाहनाका साथ निर्माण भएका विवेकशील र साझाजस्ता पार्टीहरुले आमआदमी पार्टीबाट सिक्नुपर्ने धेरै छन् ।

सैद्धान्तिक दर्शन र राजनीतिक वादहरुमा नअल्झिइ शिक्षा, स्वास्थ्य, सडक र रोजगारीजस्ता जनताका प्रत्यक्ष सरोकारका मुद्दा उठाएर नागरिकको मन जित्न सफल भए भन्ने नेपालमा विवेकशील र साझाजस्ता पार्टीहरु पनि चुनावबाट स्थापित भएर प्रदेश र केन्द्र सरकारमा सहभागी हुन बेर लाग्ने छैन । यसले एकातिर दुई पार्टीमा सीमित भएको राष्ट्रिय राजनीतिको सिन्डिकेट फराकिलो हुने छ भने अर्कोतिर यी वैकल्पिक पार्टीहरुको सफलताबाट डराएर कम्युनिस्ट र कांग्रेसजस्ता ठूला पार्टीहरु सुध्रिन बाध्य हुने छन् ।    

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया